विभेदको विषयमा कलाकारका कुरा

काठमाडौँ । सञ्चारकर्मी रुपा सुनारले काठमाडौंमा कोठा नपाएको विषयले सर्वत्र चर्चा पाएको छ । मानिस–मानिसबीच जातकै कारण विभेद गर्न नपाइनेमा आफूमाथि भएको विभेदविरुद्ध रुपाले प्रहरीमा उजुरी दिइन् । ३ दिन हिरासतमा बसेर प्रधान सामान्य तारेखमा रिहा भएकी छन् ।

यस विषयले अधिकांशलाई विभेदको विषयमा सोच्न बाध्य बनाएको छ । विस्तारै कला क्षेत्रका व्यक्तिहरूलेसमेत यस विषयमा आवाज उठाउन थालेका छन् । केही समयअघि मात्रै ‘मेरो पनि हैन र यो देश’ गीत निकालेका गायक प्रकाश सपुतले यही गीत पुनः सेयर गर्दै विभेदको विषयमा बोलेका छन् ।

उनी स्वयम्समेत कथित दलित समुदायको भएका कारण उनले यस्तो विभेद अनुभूत गरेका छन् । उनले रुपाको केस नभनिईकनै उक्त विषयमा बोलेका छन् ।

उनी लेख्छन्;
भूगोल पनि विकट मेरो जाती कथित तल्लो
एकै बारको यो जिन्दगी बनाइदिए खल्लो
ठूलालाई चैन हजुर सानालाई ऐन
के- के तन्त्र आयो भन्छन् हाम्लाई आको छैन…
हाम्लाई केनै सुख छर ?
सक्नेले गर नसक्ने पर तर मेरो पनि हैन र यो देश मेरो पनि हैन र ?
गीतकै प्रचार गर्‍यो भन्नुहोला !
तर पटक पटक ‘यो देश हाम्रो हैन रैछ’ भन्ने अनुभूति हुन्छ ।अनुभूति गराइन्छ !
उनले उक्त गीतका शब्दहरू लेख्दै आफूले पटक पटक देशको नागरिक नभएको अनुभूति गरेको र समाजले अनागरिकझैँ व्यवहार गरेको सम्झिएका छन् ।

गायिका ज्योति मगरलाई सामाजिक सञ्जालमा भइरहेको जातको घिनलाग्दो खेल मन परेको छैन । उनले आफू रुपाको साथमा भएको उल्लेख गर्दै उनीमाथि जात कै कारण विभेद भएको र कोठा नपाएको बताएकी छन् । तर रुपाले न्याय नपाउने र कुनै एक व्यक्ति (नेता) ले यो विषय राजनीतिकरण गर्दै रुपा र रुपा लगायतको भावनासँग खेल्ने अवस्था सिर्जना हुने बताएकी छन् । यस्तो घटना आजको दिनमा हुनु अमानवीय र निन्दनीय भएको उनको तर्क छ ।

यता अभिनेत्री केकी अधिकारीले भने माफी मागेर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । कुनै न कुनै रूपमा मानिसहरूमा विभेदको सोच रहेको बताउँदै उनले जानी नजानी आफूबाट भएको विभेदको लागि माफी मागेकी छन् । उनले स्वमूल्याङ्कनको क्षमता विकास होस् भन्ने अपेक्षा समेत गरेकी छन् । उनी लेख्छिन् :
जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव , विभेद हामी सबै भित्र दृश्य-अदृश्य रूपमा जकडिएको छ ।

आफूले आफूलाई नियाल्न, मूल्याङ्कन गर्न र त्यस प्रकारको सोच आफैभित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस् ।

अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर (ठेस) का लागि म अन्तर हृदयबाट क्षमा प्रार्थी छु ।

यता पछिल्लो समय पशुपति शर्माको गीत ‘हामी नेपाली’ चर्चामा आएको छ । गीतमा कामी, दमाईंलगायतका शब्द प्रयोग गरेको भन्दै तत्कालीन समयमा दलित समुदायले विरोध गरेको थियो । यति मात्रै नभएर उनलाई बहिस्कार नै गर्ने अप्रत्यक्ष अभियानसमेत चलेको थियो । अहिले आएर भने गीतको सार्थकता देखिएको छ । उनले समेत पुरानो दिन सम्झिँदै यो गीत सार्वजनिक रूपमा सेयर गरेका छन् ।

उनी लेख्छन्— ‘मलाई यो गीत बन्द गर्न किन बाध्य बनाइयो होला, म अहिले पनि यही सोचि रा’को छु, हामी नेपाली हौ मलाई त्यत्ति थाहा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *