लता भन्छिन्- आवाजलाई मन्दिर मानेर पूजा गर्नुहोस्

एजेन्सी । चर्चित भारतीय गायिका लता मंगेशकरले आफ्नो सुमधुर आवाजका कारण लामो समयदेखि दर्शकहरूको मन जितिरहेकी छन् । उसको सुन्दर आवाजका फ्यान संसारभर फैलिएका छन् । बलिउडसँगै नेपाली र अन्य धेरै देशका चलचित्र उद्योगमा आफ्नो आवाजको जादु फैलाउने लताले युवा पिँढीलाई सङ्गीतको विषयमा केही सुझाव दिएकी छन् । उनले आफ्नै आवाज खोज्न भनेकी छन् । साथै भारतीय शास्त्रीय सङ्गीत, राग सिक्न तथा अभ्यास गर्न सुझाएकी छन् ।

लता भन्छिन्— ‘मेरो सङ्घर्ष म स्वयम्का लागि थिएन । यो मेरो परिवारको लागि थियो । मेरो बुबाको मृत्यु हुँदामा जम्मा १३ वर्षकी थिएँ । घरको पहिलो सन्तान भएको कारण ममाथि मेरा तीन बहिनी र एक भाइको हेरचाहको जिम्मेवारी थियो । मलाई गाउन मात्रै आउँथ्यो । त्यसैले म कटनको साडी र चप्पलमा मुम्बईभरिका रेकर्डिङ स्टुडियोहरूमा धाउँथेँ ।  कहिलेकाहीँ खाली पेटमा सहरको एक कुनाबाट अर्को कुनामा रेलमार्फत आवतजावत गर्थेँ। नौशाद सा’ब र सज्जादजस्ता ठूलो मन भएका सङ्गीतकर्मीले मलाई खाजा खुवाउने गर्थे ।’

लता थप्छिन्— ‘यदि तपाईंले कठिनाइ देख्नुभएको छैन भने, तपाईं कसरी कष्टको बारेमा गीतहरू गाउन सक्नुहुन्छ ? अहिलेको पुस्ताको लागि यो क्षेत्र पहिले भन्दा सजिलो हुँदै गएको छ । गीत कम्प्युटरमा रेकर्ड गरिएका छन् । हाम्रो समयमा १०० भन्दा बढी आर्केस्ट्राका मानिसहरू राखेर लाइभ रेकर्डिङ गर्नुपर्थ्यो । जब रफी साहब र म, किशोर दा र म युगल गाउँथ्यौँ, हामी माइकसमेत एउटा मात्रै प्रयोग गर्थ्यौँ । आजकलको युगल गीतमा दुई महाद्वीपबाटसमेत रेकर्ड गर्न सम्भव छ । यसो गर्नाले गीतका भावनाहरू हराउँदै गएका छन् ।’

लता रिमिक्स संस्कृतिको विरुद्ध कडाइका साथ खडा छिन् । यसकाबारे कुरा गर्दै उनी भन्छिन्, “सुरुवाती चरणमा रफी साहब, किशोर दा, आशा वा मेरो नक्कल गर्नु ठिक छ । तर जति सक्दो चाँडो आफ्नो आवाज चिन्नुपर्छ । यही कारण पुरानो गीतको रिमिक्स गर्नु खासै राम्रो मान्न सकिँदैन । नक्कल आखिर नक्कल नै हो, यसमा आफ्नोपन पाइँदैन । यसले तपाईं जहाँ जान चाहनुहुन्छ त्यहाँ सम्म लैजान सक्दैन । तपाईंले आफ्नै आवाज चिन्नुहोस् र त्यसैलाई निखार्नुहोस् । भारतीय शास्त्रीय सङ्गीत सिक्नुहोस्, राग सिक्नुहोस् र अभ्यास गर्नुहोस् ।  प्रत्येक दिन रियाज गर्नुहोस् । दुर्भाग्यको कुरा, म यति व्यस्त भए कि मैले रियाजलाई दैनिक निरन्तरता दिन सकिन । गायनमा बहेको हिसाबले यो मेरो लागि दुखद्  विषय हो । युवा गायकहरूलाई मेरो सल्लाह भनेको तपाईं आफ्नो आवाजलाई मन्दिर जस्तो व्यवहार गर्नुस् भन्ने नै हो ।’

९१ वर्षीय लता मंगेशकरले धेरै नेपाली गीतमा समेत आवाज दिएकी छन् । गायनको क्षेत्रमा अमूल्य योगदान पुर्‍याएकोमा लतालाई भारत रत्न, पद्म विभूषण, पद्म भूषण र दादा साहेब फाल्के पुरस्कार जस्ता धेरै सम्मानहरूबाट सम्मानित गरिएको छ ।

(भारतीय सन्चार माध्यमको सहयोगमा तयार)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *