चिसियो आकाश र पूजाको सम्बन्ध

काठमाडौँ । नेपाली सिने क्षेत्रका कलाकारको मिलन र बिछोड सामान्य नै मानिन्छ । एउटा काम गर्दा नजिकिएका कलाकार अर्को काम नआउँदै पानी बाराबार गर्नसमेत पछि पर्दैनन् । नाम जोडिएका कलाकार कोही आफ्नो सम्बन्ध स्वीकार्दैनन् भने कति कलाकार नाम जोडेर चर्चामा आउन मन पराउँछन् । नायक-नायिकाको सम्बन्ध कस्तो चल्दैछ र कस्तो चल्छ भनेर केही भन्नै सकिँदैन ।

अभिनेत्री तथा निर्माता पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडीलाई दर्शकले धेरै मन पराए । उनीहरूका प्रशंसक समूह नै बनाएर एक ठाउँमा जोडिएका पनि छन् । सोही समूहमार्फत उनीहरूले आकाश र पूजाको जन्मदिन तथा विभिन्न अवसरलाई विशेषसमेत बनाउँदै आएका छन् । उनीहरू यी दुईको भिडिओ तथा चलचित्र प्रमोसनमासमेत लागिरहेका छन् । जन्मदिनमा पूजा र आकाशले महँगा उपहारसहित भव्य पार्टी पाउने गरेका छन् । उनीहरू आकाश र पूजालाई नराम्रो भन्ने व्यक्तिलाई गालीगलौज गर्न पनि पछि पर्दैनन् ।

तर, दर्शक र समर्थकको यति धेरै मायाका बीच पनि पूजा र आकाशले आपसी सम्बन्धलाई राम्ररी डोहोर्याउन सकेको देखिँदैन । यस अघि पनि उनीहरूबीच खटपट भइरहन्थ्यो, कहिले अन्तर्वार्तामा त कहिले सामाजिक सञ्जालमा । फेरि केही समयमा झगडा मिली पनि हाल्थ्यो । अप्ठ्यारोमा हुँदा आकाशले पूजालाई र पूजाले आकाशलाई साथ पनि दिएकै हुन् । एक टेलिभिजन कार्यक्रममा पूजाले देशको सामान्य ज्ञानबारे दिएको गलत जवाफ र त्यसले सिर्जित विवादका बेला आकाशले खुलेर साथ दिए र पूजाको हिम्मत बढाउने काम गरे ।

तर स्थिति सधैँ एक नास नहुने । खटपट चल्दाचल्दै कहिलेकाहीँ छुट्टिने स्थिति पनि आउँदोरहेछ । उनीहरूका प्रशंसकको रहर त उनीहरुले विवाह गरेको हेर्ने थियो । तर प्रेम सम्बन्धमै नरहेको बताउने उनीहरूले अब त मित्रता पनि तोडेका छन् । करिब २ हप्ताअघि नै यी दुईले सामाजिक सञ्जालबाट एक अर्कालाई हटाएका छन् । ‘ब्रेक अप’ भएकाझैँ पोस्टहरू पनि निरन्तर आइरहेका थिए । फ्यानहरू कोही पूजाको समर्थनमा देखिन थालेका छन् भने कोही आकाशको । उनीहरूका समर्थक नै दुई भागमा बिभक्त छन् । यो विवाद र सम्बन्धको चिसोपनलाई सिन्धुपाल्चोकमा आएको बाढीले अझ देखिने बनाएको छ । पूजा शर्मा ‘हेल्पिंग ह्यान्ड्स फर सिन्धुपाल्चोक’मार्फत राहत लिएर सिन्धुपाल्चोक जाँदा आकाशले अर्कै समूह चुने । उनीहरु दुई समूह बनाएर जाँदा उनीहरुको सम्बन्ध अब सकिएको शंकाले झन बल पायो । घटना यति मै रोकिएन ।

टेलिभजन कार्यक्रम रजतपट र रंगपत्रकार प्रकाश सुवेदीको नामसम्म लिन मन नपराउने पूजाका ‘प्रिय मित्र’ आकाश सोही समूहसँग जोडिए । सुवेदीले आकाशसँगको दङ्ग परेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्— ‘आजबाट लोकप्रिय अभिनेता आकाश श्रेष्ठ पनि हाम्रो अभियानमा आबद्ध हुनुभएको छ । स्वागत छ आकाश भाइलाई !’ रजतपट समूहले ‘कोसेली अभियान’ नाम दिएर सहयोग सङ्कलन तथा वितरण गरिरहेको छ । यसमा कलाकर्मी तथा अन्य व्यक्तिले निरन्तर सहयोग गरिरहेका छन् । ३ वर्ष अघि दुर्घटनामा परेकी मोडल निशा घिमिरेका लागिसमेत यो टिमले सहयोगको घोषणा गरेको छ ।

यही पोस्टका कारण आकाश र पूजा दुवैलाई माया गर्ने फ्यानहरू भने चिन्तित देखिएका छन् । उनीहरू बाह्य पक्षले फुटाउन चहलपहल गरेको आरोप लगाउँदै रजतपट टिमतर्फ सङ्केत गर्दैछन् । त्यसो त सुवेदीलाई सम्बन्ध बिगार्ने पत्रकारको आरोप पनि लाग्दै आएको छ । यसअघि दीपा श्री निरौला र महानायकको विवाद सँगै छवी र शिल्पाको विवादलाई पुनः चर्चामा आउनुमा पनि उनको कार्यक्रम रजतपटको ठूलो हात छ ।

केही दिनअघि मात्रै पनि एक तस्बिर सार्वजनिक गर्दै उनले केदार घिमिरे ‘माग्ने बुढा’ लाई घुमाउरो पारामा दिपक-दीपाको कारण आफूसँग टाढिएको आरोप लगाएका छन् ।

आकाश र पूजाबीच के भएको हो उनीहरू नै जानुन् । तर दर्शक र शुभचिन्तकको चाहना भने उनीहरू मिलेर बसुन् भन्ने नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *