राष्ट्रिय कविता महाेत्सव २०७८ मा तेस्रो भएको कविता- आमा म आएँ अब

आमा म आएँ अब

हाँस्छन् शैल, मनुष्य पल्लवित छन्,बोल्छन् शिलागौरव
इन्द्रेनीमय जात,धर्म, थरले छर्छन् सुधा सौरभ
यस्तो सृष्टिकला अमूल्य निधिको बोकी महासागर
थोपो खोज्न कतै म जान्नँ जननी आएँ म आएँ अब ।।

मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर
रोदी,मादल, धाननाच, जितिया बन्धुत्वका रक्षक
गाऔँ गान ‘सयौँ थुँगा…’ सँगसँगै आमा म आएँ अब ।।

टोपी, बक्खु तयार छन्, सडकमा नाङ्गा नरोउन् कतै
किंकर्तव्यविमूढ बन्न नपरोस् भोकाहरूले अझै
यार्चागुम्बु,चिराइतो कलुषता निर्मूल पार्दै सब
बाँच्ने विश्व बचाउने रहरले आऊ, म आएँ अब ।।

मेरा पाउ समृद्ध छन्, शिर उँचो, छाती खुला निर्मल
सीमामा बलभद्रका कलमले गर्दैछु हस्ताक्षर
साझा लक्ष्य विकासको मुलुकमा मेची र कालीसँग
नौलाद्वार सुशान्तिका, प्रगतिका खोलेर आएँ अब ।।

बोकीमाथ म विश्वसाथ नउठे के काम यो शैलको
कोसीझैँ अविश्रान्त बग्न नसके के अर्थ यो सैरको
मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब
आफ्नै आँगनमानिचोर्न पसिना आमा म आएँ अब ।।

(ताप्लेजुङ्गका कवि बरालको यो कविता नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको राष्ट्रिय कविता महाेत्सव २०७८ मा तेस्रो पुरस्कारका लागि छनोट भएको हो।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *