एभरेस्ट समिटियर्स समिट र समिटियर कविता नेपालीबीच सम्झौता

काठमाडौं । एभरेस्ट समिटियर्स समिट नेपाल र एभरेस्ट समिटियर कविता नेपालीबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच एभरेस्ट समिटियर्स समिट नेपाल र एभरेस्ट समिटियर नेपालीबीच सम्झौता भएको हो ।
समझदारीअनुसार नेपालीलाई एभरेस्ट समिटियर्स समिट २०२६ का लागि सार्वजनिक सम्बन्ध प्रतिनिधिको रूपमा नियुक्त समेत गरिएको छ । यसअघि एभरेस्ट एलायन्स नेपालले छुट्टै एभरेस्ट समिटियर्स समिट २०२६ को मिति, दृष्टिकोण तथा दर्ता प्रक्रिया सार्वजनिक गरिसकेको छ । एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ मा काठमाडौंमा आयोजना हुने तय भएको छ ।
नेपालीले गत वर्षको मे महिनामा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । समझदारीअनुसार नेपालीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा एभरेस्ट एलायन्स नेपाल र एभरेस्ट समिटियर्स समिटको प्रतिनिधित्व गर्दै सार्वजनिक सम्बन्ध तथा सञ्चार रणनीतिमा सहयोग गर्नेछन् । साथै दिगो पर्वतारोहण, फोहोर व्यवस्थापन तथा हिमाली वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्दै जिम्मेवार पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
एमओयु कार्यक्रममा बोल्दै एभरेस्ट समिटियर नेपालीले हिमालको संरक्षणमा योगदान दिने अवसर पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए । उनले हिमालको संरक्षण र हिमालमा रहेको फोहोर व्यवस्थापनका लागि आफू सदैव प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पहिचान भएकै हिमाल भएको उल्लेख गर्दै हिमालको संरक्षण गर्न सबैले आ-आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको पनि बताए ।








