‘पुष्पलालका छानिएका रचनाहरू’ बजारमा

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालका श्रेष्ठका सङ्कलित रचनाहरू समावेश पुस्तक ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’ र ‘पुष्पलाल छानिएका रचना १, २, ३, ४’ सार्वजनिक भएको छ।

पुष्पलालको जीवनकालमा भएको राजनीतिक घटनाक्रमलाई पुष्पलाल अध्ययन समाजले सङ्कलन गरेको हो। ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’मा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको निर्माणको सकस र नालीबेली प्रस्तुत गरिएको छ। यस्तै पुष्पलाल छानिएका रचना–१ मा वि.स २०१२ सालको दोस्रो सम्मेलनमा नेकपाको राजनीतिक प्रस्ताव, वि.स २०१७ साल पौष १ गतेको घटना विरोध, वि.स २०१८ सालमा राष्ट्रको नाममा नेकपाको अपिल, नेपाल–भारत र प्रजातन्त्र विरुद्ध राजाका सम्झौतालगायत वि.स २०१८–१९ सालसम्मका लेख, दस्ताबेज, राजनीतिक प्रतिवेदन, भाषण समेटिएका छन्।

त्यसै गरी पुस्तक २ मा वि.स २०१९ साल देखी वि.स २०२५ सालको कम्युनिस्ट पार्टीको क्रान्तिकारी पुन गठन गर्न गरिएको तेस्रो ऐतिहासिक सम्मेलनसम्मको लेख दस्ताबेज, नेपाली काँग्रेसको समाजवादको विवेचना, अमेरिकी साम्राज्यवाद र भियतनामी क्रान्ति, नेपाली जनआन्दोलन एक समीक, नेपालमा मातृसत्तात्मक समाज नेकपाको अठार वर्षको सिंहावलोकन, नयाँ जनवादी क्रान्ति भनेको के हो? नेपाल कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलनको ऐतिहासिक महत्त्व आदि समेटिएको छ।

पुस्तक ३ मा २०२५ देखि २०२९ सम्मका लेख रचना र दस्ताबेज समावेश छन्। जसमा नयाँ जनवादी कार्यक्रम, पञ्चायती व्यवस्थामा नेपाली काँग्रेसको आत्मसमर्पण, पञ्चायती व्यवस्था बहिष्कार गर्ने अपिल, राजतन्त्रको उत्पत्ति तथा विकास र भविष्य , दस्तावेजरूको अध्ययन कसरी गर्ने लगायत विविध विषयहरू समेटिएका छन्।

पुस्तक ४ मा २०२९ देखि २०३५ सम्मका दस्ताबेजहरू, चौथो सम्मेलनको राजनीतिक रिपोर्ट, नेकपा र यसको कार्य पद्धति, प्रगतिशील बुद्धिजीवीको काम र कर्तव्य, समाजको विकास र शब्दार्थ, सिक्किममा प्रजातन्त्रको युगको सूत्रपातलगायतका लेख रचना समावेश छन्। यी पाँच पुस्तकको मूल्य ३ हजार ३ सय २० रहेको छ। पुस्तक लिपि प्रकाशनले बजारमा ल्याएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =