इम्पेरियल वर्ल्ड स्कुलमा तेस्रो ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’ सुरु

काठमाडौँ । हात्तिगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’को तेस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ। दुई दिने महोत्सवले विद्यार्थीलाई सिर्जनात्मक सोच, बौद्धिक विमर्श र अभिव्यक्तिको मञ्च प्रदान गरेको विद्यालयले जनाएको छ।

महोत्सवको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले पानसमा दीप प्रज्वलन गरेर गरिन् भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा कवि तुलसी दिवस थिए। उद्घाटन समारोहमा बोल्दै दिवसले कला र साहित्यले मानव जीवनलाई संवेदनशील र सृजनशील बनाउने उल्लेख गर्दै नयाँ पुस्तालाई मौलिक सिर्जनासँग जोड्न यस्ता महोत्सवको भूमिका महत्त्वपूर्ण हुने बताए।

उपमेयर अनिता लामाले विद्यालयको प्रशंसा गर्दै इम्पेरियलले पाठ्यपुस्तकभन्दा बाहिर गएर विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा गरेको प्रयासले सक्षम जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीका अनुसार कला र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि महोत्सव आयोजना हुँदै आएको हो। महोत्सवको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूद्वारा सिर्जित तीन साहित्यिक कृति—नेपाली कविता सङ्ग्रह ‘शब्द बगैँचा’, नेपाली कथा सङ्ग्रह ‘उडान कथा’ र अङ्ग्रेजी कथा सङ्ग्रह ‘माई पेन माई वर्ल्ड’—को विमोचन गरिएको थियो।

पहिलो दिन सात वटा सत्र र एक प्यानल छलफल सम्पन्न भएको थियो। ‘साहित्य : पुस्ताबाट पुस्तासम्म बोलिरहने जीवित स्वर’ शीर्षकको प्यानल छलफलमा साहित्य समाजलाई कसरी जीवित राख्छ भन्ने विषयमा चर्चा गरिएको थियो। महोत्सवको दोस्रो दिन शुक्रवार कला र साहित्यसम्बन्धी १२ वटा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =