संक्रमण कम भएर निषेधाज्ञा खुकुलो भएको होइन सावधानी अपनाउनै पर्छ : भाइरसविज्ञ डा. पाण्डे

मंगलबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएको छ । नीजि सवारीसाधन जोर-विजोर प्रणालीमा चलाइएको छ भने बजार पनि लामो समयसम्म खोल्न दिइएको छ ।

याे पनि : निषेधाज्ञा थप खुकुलो, के-के खुल्छन् ? (निर्णयसहित)

लकडाउन खुकुलो भएसँगै चहलपहल बढेको छ । जसका कारण, केही समयदेखि कम भइरहेको कोरोनाको सक्रमण बढ्ने हो कि ? भन्ने जोखिम पनि बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै अब के कस्ता सावधानी अपनाउन आवश्यक छ त ? यसै विषयमा भाइरसविज्ञ डा बासुदेव पाण्डेसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानी :-

निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्यो, के भाइरसको जोखिम कम भएको हो ?
अहिले कोरोनाको सङक्रमणदर केही कम भएको छ । एकातिर अहिले परीक्षणदर कम गरिएको भएकाले पनि संक्रमित संख्या कम आएको हो । तर यो मात्र कारण भने होइन, समग्रमा हेर्दा कोरोना भाइरसको संक्रमण नै कम भएको जस्तो देखिएको छ । तर यो सङक्रमणदर कम भएर लकडाउन खुकुलो गरिएको चाहीँ होइन ।

मानिसका धेरै समस्याहरु छन् । जस्तो कि मजदुरी गरेर खानुपर्नेहरुलाई चुल्हो बाल्न कठीन पर्न थाल्यो । अरु पेशा ब्यवसायमा पनि समस्या भयो । ब्यापार ब्यवसायमा नोक्सानी बढ्न थाल्यो । यसकारण पनि निषेधाज्ञा खुकुलो भएको हो । तर सँगसँगै हामीले भाइरसबाट जोगिन विशेष ध्यान दिन जरुरी छ । केही कम देखिएपनि संक्रमणको जोखिम बाँकी नै रहेकाले हामी आफैंले सावधानी अपनाउन जरुरी छ । जनस्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गर्न आवश्यक छ ।

मानिसको चहलपहल र आवत जावत बढेसँगै अब के कुरामा ध्यान दिने ?
हामीले गत वर्षको त्यो समयलाई पनि भुल्नु हुँदैन । जस्तोकि साउनमा कोरोना सकिएको जसरी ह्वात्तै लकडाउन खोलियो मानिसहरु पनि सबै भाइरस सकियो भनेजस्तो गरी सामान्य बने । तर त्यसपछिको अवस्था सबैलाई थाहा छ । त्यसकारण अहिले दुईवटा कुरालाई ध्यान दिनु पर्दछ ।

सरकारको पाटोबाट र जनताको पाटोबाट । सरकारको तर्फबाट भन्दा सबै नागरिलाई खोपको व्यवस्था गर्नुपर्यो । जहाँ धेरै केसहरु देखिएका छन् त्यहाँ कन्ट्रयाक ट्रेसिङ बढाउनुपर्यो । अनि सीमामा आएका ब्यक्तिहरुलाई परीक्षण गर्ने र कसैलाई पनि नछुटाई कहाँनेर सङक्रमण बढि छ, हटस्पट कहाँ छ, त्यहाँ कन्ट्रयाक ट्रेसिङ गरिहाल्ने गर्नुपर्छ तर, पछिल्लो समय कन्ट्रयाक ट्रेसिङको काम शून्य जस्तो भएको छ । यो गलत भइरहेको छ । यस्तो गर्नु हुदैन । यसको महत्व जहिले पनि उत्तिकै छ । त्यसकारण सरकारको तर्फबाट यो काम हुनुपर्छ । अनि परीक्षण कम भएर लकडाउन खुकुलो भएको होइन भनेर आमजनतालाई पनि बुझाइदिन पर्यो । अनि जनताले पनि कोरोना सकिएको होइन भनि बुझि जनस्वास्थ्यका मापदण्ड अपनाई भ्याक्सिन पाउने बित्तिकै लगाइहाल्नु पर्दछ ।

यो चाइनिज, यो रसियाको, यो कुन देशको हो ? भ्याक्सिन लगायो भने के होला ? कस्तो होला ? भनेर बस्ने होइन । अनि अर्काे कुरा कुनै हल्लाकोपछि लाग्नु हुँदैन । सामाजिक सञ्जालमा कसले चम्चा टाँसिएको भन्छन्, कसैले के भन्छन् यस्ता अपुष्ट कुराको पछि लाग्नु हुँदैन । र, भ्याक्सिन लगाउनु पर्दछ । र, अर्काे कुरा विशेष रुपमा बुझुन जरुरी छ भाइरस सकिएको होइन त्यसैले स्वास्थ्यका मापदण्ड अपनाउनै पर्दछ ।

जुनसुकै नयाँ भाइरस आए भनेपनि हामीले अपनाउनुपर्ने मापदण्ड त्यही हो । अनि हामीले खानपिनमा पनि विशेष ध्यान दिनु पर्दछ । साथै कामै नपरी घरबाहिर पनि निस्कन हुँदैन । निस्कनै पर्दा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ, सामाजिक दूरी कायम गर्नुपर्छ । हामीले विशेषतः कोरोना सकिएको होइन, हाम्रो लागि प्रतिकूल अवस्था सामान्य बनाउनका लागि निषेधाज्ञा खुकुलो बनाइएको हो भन्ने सोच राखेर आफ्नो स्वास्थ्य ठूलो भन्ने सोचलाई आत्मसाथ गर्नुपर्छ ।

अहिलेको भाइरसको नयाँ स्वरुप पनि भेटिएको भन्ने खबर पनि आएको छ, यो भाइरस कस्तो हो ?
यो म्युटेसन डेल्टा भाइरसको अर्काे नयाँ म्युटेसन हो । नयाँ भन्दा पनि यसको स्याम्पल लिएको अल्लि पहिले हो । धेरै ठाउँबाट स्याम्पलहरु लिएर परिक्षण गर्न पठाएको थियो । त्यसको रिपोर्ट केही दिन अघि आएको हो । यो भाइरस अलि बढि सरुवा अर्थात् संक्रामक छ भन्ने आएको छ । त्यसकारण यो भाइरस खतरनाक पनि हुन सक्छ ।

त्यसका लागि थप अध्ययन तथा अनुसन्धान हुनुपर्दछ जुन अहिले भएको पाइएको छैन । र अहिले हामीले विशेष बुझ्नुपर्ने कुरा के हो भने, जुनसुकै भाइरसको नयाँ म्युटेसन भेरियन्टहरु आए पनि हामीले जनस्वास्थ्यका मापदण्ड अपनाउनु नै पर्दछ । भ्याक्सिन काम गर्छ या गर्दैन यो अर्काे कुरा हो । त्यो सरकारले हेर्छ । डब्लुएचओले हेर्छ । अरु सँस्थाहरुले हेर्लान् । त्यो भ्याक्सिनले काम गरेन भने अर्काै भ्याक्सिन लगाउनु पर्दछ । नयाँ भाइरस आयो भनेर चिन्तित भएर हिड्ने होइन तर सर्तक र सावधानी अपनाउन भने जरुरी छ ।

जुनसुकै नयाँ भाइरसहरु आएपनि स्वास्थयमा विशेष ध्यान दिदै सावुनपानीले बेलाबेलामा हात धुन पर्या । भौतिक दुरी कायम गर्नू प्र्यो । मास्क लगाउनुपर्यो । जनस्वास्थ्यका मापदण्ड अपनाएर अघि बढ्न परयो । यसको विकल्प छैन । मैले अघि पनि भनें मेरो स्वास्थ्य मेरोलागि सर्वस्व हो भनेर हिंड्नुपर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *