विपद्को सन्देश फैलाउँदै संगीत

काठमाडौं । गीत, जति माया वा खुशी अभिव्यक्त गर्ने माध्यम हो, त्यति नै पीडा पोख्ने साथी पनि । खुसी, रमाइलो, मायाप्रेम छल्काउनमात्र होइन, आँसु बनाएर दु:ख छचल्काउन पनि गीत सहारा बन्छ । तर दु:खमा सुस्काएर मात्र पनि त हुँदैन । दु:खको कारण पहिल्याउन र त्यसको निदान गर्नतर्फ नलाग्दासम्म दु:खको पहाडले थिचि नै रहन्छ ।

नागरिकलाई बर्षेनी दु:ख थपिदिने कुरा हुन् बाढी पहिरो भुकम्प लगायत विपत्ति । जसले बर्सेनी हजाराैं नेपालीको बिल्लिबाठ बनाउने गरेको छ । सुख्खा र खडेरीले जिविकोपार्जनमा समस्या थपिंदाे छ । पानीका मुहान सुक्नाले बसाइँ सर्नुपर्ने अवस्था छ । यस्ता बिपदको कारण उही छ प्रकृतीको मनलाग्दी दोहन ।

अर्कातिर पूर्वतयारी नहुँदा बिपद्को क्षति झन् धेरै भइरहेको छ । सरकारहरू यस्ता विपद् कम गर्नतिर होइन अझ बढाउने र बल्झाउने ध्याउन्नमा लागिरहेका जस्तो देखिन्छन् । पहाड फाेरेर त्यसलाई बेचेर धनी बन्ने सपनासहित ल्याइएको बजेटको एक बुँदालाई नै मात्र हेर्दा पनि सरकार यो बिषयमा कति गैर जिम्मेवार छ भन्ने पुष्टि हुन्छ । प्रकृतीमाथिको ब्यापारले‍ सरकार र केही ब्यापारी माेटाएका छन् तर आम मान्छेलाई यसले दुखै दुखकाे दलदलमा धकेलेको छ । यसले शासक वर्गलाई क्षणिक लाभ त दिएको होला तर भुइँमान्छेहरुलाई भने धरधरी रुवाएको छ । प्राकृतिक दोहनले दीर्घकालमा धर्ती नै नास्ने भएकाले त्यसको फाइदा कसैलाई हुँदैन तर बुझ्नेले कुरा बुझे पाे !

तर अब शासकका यस्ता हर्कतबिरुद्ध बिस्तारै आवाज उठ्न थालेका छन् । बर्षाैँदेखि यस्ताे नियति भाेग्न विवश नागरिक अब बाेल्न थालेका छन् । पहाड फाेरेर ब्यापार घाटा कम गर्ने सरकारी निर्णयकाे पनि चाैतर्फी बिराेध भयाे, भइरहेकै छ । यसैबारे खबरदारी गर्ने क्रममा दुईवटा गीत पनि जन्मेका छन्, ‘बगर पल्ट्यो खोली’ र ‘दुःख गैरो’ । जसमा जोडिएका छन्- सर्जक संगीत, गायक अन्जान बाबु र कवि विनोदविक्रम केसी ।

बन्दाबन्दीकै समय भएपनि माेबाइलमै रेकर्ड गरेर सार्बजनिक गरिएका दुबै गीतमा वर्षेनी दाेहाेरिने बिषयका सुस्केरा मात्र होइन यसको कारकका रुपमा रहेको कुशासनविरुद्ध खबरदारी पनि गरिएको छ ।

‘बगर पल्ट्यो खोली’ मा शब्द र संगीत स्रष्टा संगीतको छ । अर्को गीत दुःख गैरो भने लेखेका हुन् कवि बिनोदविक्रम केसी ।

बगर पल्ट्यो खोली प्राकृतिक दोहन र त्यसले निम्त्याएको विपत्तिलाई समेटेर बनाइएको छ । पर्वतको मोदी खोलामा भइरहेको दोहन देखेपछि गीत तयार पारेको सङ्गीतले बताए । अहिले ६ वटा जलविद्युत् आयोजना सञ्चालनमा रहेको मोदी खोलाको बगर अहिले खाल्डो र खाल्डोमा पनि पहाड जस्तो रहेको देखेपछि गीत तयार भएको उनले बताए । मोदी खोलाको ढुंगा, माटो र बालुवाको व्यापार हुने गरेको छ र अझ दुखद कुरा स्वयम् सरकार नै लागेको छ व्यापारमा ।

६ वर्षअघि आफुले देखेको मोदी खोलाको दृश्यले मन छियाछिया पारेकै थियो, यता सरकार त्यस्ता काम रोक्न लाग्नु त कता हो कता अझ प्रवर्द्ध गर्न तिर पो लाग्योको देखेपछि खपिनसक्नु भयो । अनि संगीतले यो गीतलाई ‘फाइनल टच’ दिए र लोक लयको बिट समातेर तयार गरे-

साउन्डक्लाउडमा यो गीत सुन्न  बगर पल्ट्यो खोली

गीतका शब्द यस्ता छन्-

बगर पल्ट्यो खोली
बगर पल्ट्यो खोली
सुख्खा पल्ट्यो हिउँचुली

तर, साहुले बेच्यो बिजुली ।
खानी र खोला बाँडेर
वन खायौ पूरै फाँडेर
ज्यामीलाई छलेर, डाँडेर ।

चौतारी, पोखरी मिचेर
ढुङ्गो र माटै बेचेर
कहाँ जान्छौ मान्छे किचेर ।

मनपरीमाथि मनपरी झन्
हैजामा पनि ‘फैदा’मै छन्
यी ओरलोकी हुन् कि पोरलोकीजन् ।
को हो धरती बेचुवा

बोल न मुआ, बोल न बुवा
हामी त होइनौं बँधुवा ।

मोदीखोलामा ६ वर्षअघि देखेको दृष्य आज देशैभरका खोला र नदीमा देखिन थालेको छ । अहिले सरकार स्वयमले गरिरहेको व्यापारले हाम्रो प्रकृति विनाश गर्ने र पृथ्वी ध्वस्त बनाउने भएकाले यसविरुद्ध खबरदारी गर्न यो गीत तयार पारेको उनी बताउँछन् ।

प्रकृतीमाथीको दोहन नरोकिनु बरु बढ्नुमा कुशासन र प्रकृती बेचेर र मासेर धनी बन्ने स्वार्थ मुख्य रहेको कुरा उल्लेख गरिएको अर्को गीत हो ‘दुख गैरो’ जसलाई लेखेका हुन् कवि विनोदविक्रम केसीले । मोदी खोलाको हृदयविदारक दृष्यले जन्माएको थियो, बगर पल्ट्यो खोली । यसपटक त सरकार पहाड बेचेर धनी बन्ने सपना देख्न थाल्यो । बजेट मै यो कुरा समेटिएपछि उनलाई खपिनसक्नु औडाहा भयो ।

हालै व्यापार घाटा कम गर्ने भन्दै ढुंगा, गिटी, बालुवा निकासीका लागि रोप वे चलाउन सरकारले बजेटबाटै सहुलियत दिने घोषणा गर्यो । नदीजन्य र पर्वतजन्य वस्तुको दोहन गर्ने यस्तो सरकारी नीतिले प्रकृतिको हिनामिना गर्छ एकातिर भने अर्कोतिर यसले निम्त्याउने मानवीय संकट डरलाग्दो हुन्छ । यसले नेपालको विनाश गर्ने कुरामा शंकै छैन ।

सरकारले यो निर्णय सार्वजनिक गरेलगत्तैदेखि विरोध शुरु भयो । ‘प्रतिरोध’ नामबाट सामाजिक-राजनीतिक अभियान सुरु गरिरहेको टिमले सामाजिक सञ्जालमार्फत पर्यावरण विनाशको विरोधमा प्लेकार्ड प्रदर्शन गरियो । ‘यसै क्रममा सिर्जनामार्फत् पनि पर्यावरण विनाशको विषयलाई जनताबीच पुर्याउनुपर्छ भन्ने सल्लाह गर्यौं र केही दिनमा यो गीत तयार भएको हो ’ सङ्गीतले मकालुखबरसँग भने ।

कवि विनोदविक्रम केसीले केही समयअघि नलीहाड फुकिरहेको डोजर शीर्षकको बलशाली निबन्ध लेखेका थिए सङ्गीतले उनै केसीलाई प्रकृति दोहन र पर्यावरण विनाशबारे गीत लेख्न अनुरोध गरे ।

‘उहाँले दुई, तीन दिनमै गीत लेखेर इमेल पठाउनु भयो । गीत हात परेकै दिन मैले त्यसलाई लयमा ढालें । अनि घरमा यत्तिकै समूहमा गाएको रफ भर्सनको मोबाइल रेकर्डलाई साउन्डक्लाउडमा अपलोड गरेका हौं’ सङ्गीतले सुनाए, ‘यो कुनै व्यवस्थित कम्पोज, गायन वा रेकर्ड होइन । गीतको अन्तर्वस्तुका हिसाबले यो सन्देशपरक छ भने त्यो नै यसको शक्तिशाली पक्ष हो ।’ गीतको भाव र अन्तर्वस्तुबारे श्रोताजनको ध्यान पुगोस् भन्ने हेतुले सार्वजनिक माध्यममा राखिएको उनी बताउँछन् ।

बगर पल्ट्यो खोली तयार भएको भोलिपल्ट तयार पारिएको गीतमा  मादल, ताली र सुसेलीको प्रयोगले अझै रैथाने रङ्ग थपेको छ । मादल र सुसेली संगीत स्वयमको छ भने तालीमा अनिता पण्डित र वन्दना ढकालको साथ छ । अनि गाएका छन् अनिता, वन्दना, अन्जान र संगीतले ।

मोबाइलमा रेकर्ड गरि साउन्ड क्लाउडमै अपलोड गरिएको  यो गीत सुन्न  दुःख गैरो

गीतले भन्छ-
डाह हुन्छ, नदी रुन्छ, खुनको आँशु झारेर
मन पोल्छ, रूख बोल्छ, आराको चोट नारेर
बाढी–पैरो, दुःख गैरो, हामीलाई वज्रपात-२
आफू नाच्ने, आफू हाँस्ने, को हो त्यो धर्ती मारेर-२

ढुंगे छाती, बानी घाती, लुटेराले अति ग-यो
पालुवा खायो, बालुवा खायो, गर्नुसम्म खती ग-यो
डोजर गुड्यो, कता मुड्यो, हरियो डाँडो खारेर
आफू नाच्ने, आफू हाँस्ने, को हो त्यो धर्ती मारेर-२

ट्याम छैन, याम छैन, ठेगान् छैन पानी पर्ने
वाता–वरण, भयो हरण, दुन्याँलाई हानि गर्ने
यति विधि, क्रूर थिति, खान्छ याँ’ मान्छे दारेर
आफू नाच्ने, आफू हाँस्ने, को हो त्यो धर्ती मारेर -२

बगर पल्ट्यो खोलीलाई एक युट्युव कार्यक्रममा गायक अञ्जान बाबुले गाएका छन् । सारंगीसँग अन्जान

बिपदका बारे सङ्गीत र अञ्जान बाबुले यसअघि नै एउटा कालजयी रचना तयार पारेका छन् । सप्तकोशीमा आएको बाढीले हजार्रौ परिवारको विल्लिबाठ पारेको थाहा पाएपछि सङ्गीले गीत लेखे । लय भरे र अञ्जान बाबु र उनी मिलेर गाउँदै धेरै ठाउँ पुगे । २०७१ साल साउनमा सिन्धुपाल्चोकको जुरेमा बाढी र पहिरोले ठूलो जनधनको नोक्सानी गरेपछि उनीहरुले यो गीत रेकर्ड गर्ने निधो गरे र रेकर्ड गरे । त्यसपछि यो गीत धेरै जनासम्म पुग्यो । सुर्खेतमा आएको बाढीले सयौँ परिवारलाई तहसनहस बनाएपछि चर्चित मादल बादक तथा रङ्गमञ्च कलाकार प्रेमदेव गिरीको अभिनयमा भिडियो बन्यो । त्यसपछि यो गीत अझ धेरैसम्म पुग्यो । जुन गीतको बोल छ चरि लैजा समाचार-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *