९९ केन्द्रीय सदस्य थप्दै माओवादी, महिला र दलितलाई प्राथमिकता दिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ९९ केन्द्रीय सदस्य थप्ने भएको छ । दलित, महिला तथा युवालाई प्राथमिकतामा राखेर ९९ केन्द्रीय सदस्य थप्ने तयारी भइरहेको संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृकाप्रसाद यादवले मकालु खबरलाई जानकारी दिए । यादवकाअनुसार माओवादीले यो काम चाँडै गर्दैछ । ‘कार्यदलले काम गरिरहेको छ,’ यादवले भने— ‘खासगरी महिला, दलित तथा युवालाई केन्द्रमा राखेर ९९ केन्द्रीय सदस्य थपिनेछन् । युवाको सन्दर्भमा चाहिँ ४० वर्षमुनिका युवाहरुलाई लिइनेछ ।’

पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुनेछ । केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको छ । नेता यादवकाअनुसार कार्यदलले २० प्रतिशत युवालाई पनि केन्द्रीय समितिमा स्थान दिन सुझाव दिएको छ ।

एमालेसँगको पार्टी एकता सर्वोच्च अदालतले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा जुटेको छ । जसको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दस्तावेज लेख्दैछन् । दस्तावेज लेखनको क्रममा अध्यक्ष प्रचण्डलाई प्रदेशबाट सुझावहरु आइरहेको छ । नेता लीलामणि पोखरेलले मकालु खबरसँग भने— ‘पार्टी कस्तो बन्ने त दस्तावेज तयार भएपछि मात्रै पक्का हुन्छ । अहिले सुझावहरु आउने क्रम जारी छ । अध्यक्षज्यूले लेख्दै हुनुहुन्छ ।’

प्रचण्ड सचिवालयकाअनुसार इमेलमार्फत करिब २ हजारभन्दा बढी सुझावहरु आएका छन् । यसअघि अध्यक्ष प्रचण्डले इमेलमार्फत आफूलाई सुझाव दिन भनेका थिए । सुझावहरुमा प्रायः गरेर पूर्व माओवादी नेताहरुको ध्रुवीकरण हुनुपर्नेलगायत रहेको एक सचिवालय सदस्यले मकालु खबरलाई बताए । भने— ‘सुझावहरु धेरै खाले छन् । जसमा धेरैले माओवादी ध्रुवीकरणको कुरालाई सुझावमार्फत उठाउनुभएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *