दस्तावेज लेखनमा प्रचण्ड, पूर्वमाओवादीको ध्रुवीकरण गर्न सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले दस्तावेज लेखनमा व्यस्त छन् । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको माओवादी केन्द्रलाई कसरी अगाडि बढाउने भन्नेबारे अध्यक्ष प्रचण्डले दस्तावेज लेखिरहेका छन् । माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यकाअनुसार अध्यक्ष प्रचण्डले चाँडै नै पूर्ण दस्तावेज ल्याउने तयारी गरेका छन् । पार्टी कमिटी र नेताहरुको सुझावअनुसार दस्तावेज तयार भइरहेको उनको भनाइ छ ।

पार्टीको वैचारिक लाइन, राजनीतिक कार्यदिशा र सांगठनिक संरचनालगायतका विषयमा छलफल तथा दस्तावेज सँगसँगै अगाडि बढिरहेको ती नेताले बताए । भने— ‘खासगरी माओवादी ब्युँतिसकेपछि अबको पार्टी संरचना कस्तो बनाउने, कार्यदिशा के ?, अनुशासनको दायरा कस्तो बनाउने, पार्टीको सैद्धान्तिक र वैचारिक पाटोलाई कस्तो बनाउनेलगायतका विषयलाई केन्द्रमा राखेर दस्तावेज तयार हुँदैछ ।’

दस्तावेज लेखनको क्रममा प्रचण्डले तल्लो तहका पार्टी कमिटीका नेताहरुसँग भर्च्यूअल छलफल पनि गरिरहेका छन् । छलफलबाट आउने जायज कुराहरु समेटेर पार्टी दस्तावेज तयार हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले यसअघि गत जेठ २ गते कार्यदिशाका लागि इमेलमार्फत सुझावसमेत मागेका थिए । त्यसको जानकारी अध्यक्ष प्रचण्डले आफ्नो फेसबूकमा पनि राखेका थिए । जहाँ करिब ३ हजार ३ सय र इमेलमार्फत झन्डै २ हजार सुझाव आएको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रको पार्टीको कार्यदिशा र वैचारिक पाटो स्पष्ट नभएको आवाज कार्यकर्ताहरुले उठाएपछि पार्टीको दस्तावेज तयार गर्ने निर्णय भएको मुख्य सचेतक देव गुरुङले बताए । मकालु खबरसँग गुरुङले भने— ‘पार्टी बनेयता माओवादी केन्द्रको कार्यदिशा र वैचारिक पाटो स्थापित भएनन् भन्ने आवाज कार्यकर्ताहरुबाट उठेपछि दस्तावेज लेख्न थालिएको हो । यसपछि पार्टीले एउटा दिशा ग्रहण गर्छ भन्ने लागेको छ ।’

सुझावका क्रममा कतिपय कार्यकर्ताले एमालेसँगको एकताबारे कुरा उठाएका छन् । पूर्ण रुपमा बहस नगरी वा तयारी नपुर्याइ नै एकता भएको बताउँदै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । नेता लीलामणि पोखरेल भन्छन्— ‘त्यो एकता ताकादेखि नै केही साथीहरुले उठाउँदै आउनुभएको हो र अहिले उठ्नु अस्वाभाविक भएन । पार्टी हो असन्तुष्टिहरु हुन्छन् । असहमतिहरु हुन्छन् । त्यसलाई मिलाएर लानु नै नेतृत्वको खुबी हो ।’

अध्यक्ष प्रचण्डले पार्टी कमिटी निर्माण, पार्टीको नाम उमेर हद, कार्यअवधिको हद, एमालेसँग एकता गर्दाका कमजोरीलगायतका विषयमा सुझाव दिन भनेको थिए । जसमा तल्लो तहका कमिटीहरुसम्म सुझाव पुर्याउन केन्द्रीय सदस्यहरुलाई भनिएको थियो ।

पार्टी एकताको कुरा
सुझाव संकलनका क्रममा प्रायःजसोले पूर्वमाओवादी पार्टीहरु एक हुनुपर्ने सुझाव दिएका छन् । एकताको माध्यमबाट पार्टीलाई दह्रो पार्न सकिने तर्क गर्दै नेताहरुले बृहत् वाम एकताको माग गरेको नेताहरुले बताएका छन् ।

नेता गुरुङ पनि बृहत् वाम एकता सकारात्मक भएको बताउँछन् । भन्छन्— ‘बृहत् एकता भएको खण्डमा पार्टी दह्रो हुन्छ भन्ने हाम्रो बुझाइ त पहिलेकै हो । तर, राजनीतिक घटनाक्रमका विभिन्न चरणमा पार्टी एक रहन सकेन ।’ यसअघि गत जेठ ३ गते पूर्वमाओवादी नेता गोपाल किराँतीले पुनः पूर्वमाओवादीहरुको ध्रुवीकरण गर्नुपर्ने बताएका थिए । त्यसतर्फ संकेत गर्दै गुरुङले भने— ‘केही कमरेडहरुले भनिरहनुभएकै पनि छ ।’ त्यस विषयमा पार्टीमा बहस तथा सम्वादहरु भइरहेको नेता लीलामणि पोखरेल बताउँछन् । ‘स्वाभाविक रुपमा सम्वाद तथा छलफलहरु भइरहेका छन् । पूर्वमाओवादीहरुको ध्रुवीकरण असम्भव नै चाहिँ होइन ।’

पार्टीले पूर्वमाओवादी ध्रुवीकरणको बहस गरी नै रहेकाले यो सम्भव पनि हुन सक्ने नेताहरु गुरुङ र पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *