धनकुटाका चार बस्ती सुरक्षित स्थानमा सार्ने तयारी, घर निर्माण गर्न ५० हजार

विराटनगर । धनकुटाका ४ वटा बस्ती विपद्को उच्च खोजिममा रहेको भन्दै सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । संवाद समूहले धनकुटाको विपद ब्यवस्थापन र न्युनिकरणको सम्बन्धमा गरेको भर्चुअल संवादका क्रममा जिल्ला विपद् ब्यवस्थापन समितिले तत्काल ४ स्थानका नागरिकलाई सुरक्षित स्थानमा सार्नको लागि तयारी भईरहेको जनाएको हो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बस्ती स्थानान्तरणको लागि तयारी भएको छ । स्थानान्तरणका लागि प्रति परिवार घर निर्माणको लागि ५० हजार दिईने र सुरक्षित स्थानमा सारिने उनले बताए । उच्च जोखिममा रहेको बस्तीहरुमा सहिदभुमी गाउँपालिकाको ३२ घरधुरी सार्नु पर्ने अवस्थामा रहेको छ । त्यहाँको बस्ती अन्यत्र सार्नका लागि अनुदान प्रति परिवार ५० हजार उपलब्ध गराई सकिएको छ ।

त्यस्तै धनकुटा नगरपालिका वडा नम्बर ८ का २४ घर स्थानान्तरण गर्नु पर्ने, महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का ७ घर जोखिममा छन् भने उनीहरुलाई पनि अन्यत्र सार्नको लागि पहल भईरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । त्यहाँका एकजना बृखबहादुर भुजेल भने सुरक्षित स्थानमा सरिसकेका छन् ।

साँगुरीगढी गाउँपालिकाको वडा नम्बर १ र २ का २९ घर जोखिमयुक्त स्थानमा रहेका छन् । यो ठाउँको बस्ती भासिएको र पहिरोको उच्च जोखिममा रहेकोले अन्यत्र सार्न पर्ने अबस्था आएको बस्ती स्थानान्तरण गर्नु पर्ने अबस्थाको साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिए ।

जोखिममा रहेको बस्तीलाई अन्य तत्काल सार्नु पर्ने अबस्था आएमा नेपाली सेना र शसस्त्र प्रहरीलाई ब्यवस्थापन गर्नकालागि तत्काल परिचान गरिने प्रशासनको तयारी छ । जोखिमयुक्त बस्तीमा भएका ब्यक्तिलाई अन्यत्र सार्नको लागि भएका तयारीको बारेमा जानकारी दिने, अनुगमन गर्ने र सजग गराउने काम जिल्ला प्रशासन कार्यालयले गर्दै आएको छ ।

विपद आईहालेको अवस्थामा जिल्ला विपद ब्यवस्थापन समितिले तत्काल उद्दार र राहतको लागि तयारी अबस्थामा रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । ‘मुलघाटमा १० जना सशस्त्र प्रहरी तयारी अबस्थामा रहेको, सल्लेरीमा नेपाली शेना तयारी अबस्थामा रहेका छन्,’ उनले भने, ‘केही बन्दोबस्तीका सामानहरु सहितको तयारी छ, राहत र त्रिपालहरु सहितको ब्यवस्थापनको गर्न रेडक्रस र स्थानीय तहलाई भनिएको छ ।’

असार महिनाको शुरुमै मनाङ, सिन्धुपाल्चोकमा आएको बाढी र क्षतीसँगै त्यहाँ भएको क्षतीबाट पाठ सिकेर तयारी अवस्थामा रहेको उनले बताए । तत्काल समस्या आईपरेको अवस्थामा राहत र उद्दारको लागि स्थानीय विपद् ब्यवस्थापन समितिले पनि सामाग्रीको जोहो गरेका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिले तत्काल राहत उपलब्ध गराउनको लागि ५ लाख खातामा राख्नु पर्ने ब्यवस्था अनुसार त्यो भन्दा बढी नै खातामा जम्मा रहेको प्रजिअ दाहालले बताए ।

क्षेत्रगत क्लष्टरलाई पनि तयारी अबस्थामा राखिएको छ। राजमार्ग अबरोध हुनसक्ने आँकलन गरेर मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना र रबी राँके सडक आयोजनालाई पनि तयारी अबस्थामा रहन भनिएको छ ।

नेपाल रेडक्रस सोसाईटी धनुकटा सभापति हरि राईले तत्काल आवश्यक परेको बेला ५० परिवारको लागि गैरखाद्य सामाग्री तयारी अवस्थामा राखिएको छ। मनुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार ५० परिवारलाई अपुग हुने अवस्था आए छिमेकी जिल्लाबाट लिन सकिने गरि ब्यवस्था गरिएको बताए । २ हजार भन्दा बढी परिवारलाई पुग्ने गरि क्षेत्रिय गोदाममा सामाग्री रहेको बताए ।

धनकुटामा ३७ प्रतिशत ज्यादै भिरालो, ५७ प्रतिशत भिरालो जमिन रहेको र बाँकी ६ प्रतिशत मात्र जग्गा समथर छ । विगत २ बर्षको अवधिमा विपद भयावह रुपमा आएको उनले सुनाए । विकासको नाममा केही बिनाश निम्तीएको उनले बताए । रेडक्रसमा ५ किलोग्रामको ३ सय थान त्रिपाल रहेको रेडक्रस सभापति राईले जानकारी दिए । तत्काल आबश्यक रहेको त्रिपाल राजारानी, महालक्ष्मी, सहिदभुमी, पाख्रिबास र छथर जोरपाटीलाई पनि त्रिपाल बितरण गर्ने तयारी छ ।

प्राथमिक उपचारको टोली ८ जना तयारी अवस्थामा रहेको छ। तथ्यांक संलन गर्नका लागि प्रारम्भीक द्रुत लेखाजोखा गर्न स्थानीय तहका लागि १।१ जनालाई तालिम दिईएको उनले बताएका छन् । मनसुुन सक्रिय हुँदै जाँदा स्थानीय तहहरुले पनि त्यसको हुनसक्ने जोखिम कम गर्नको लागि काम थालेको जनाएका छन् ।

महालक्ष्मी नगरपालिकाका मेयर पर्शु नेपालले जोखिमग्रसत क्षेत्रको पहिचान गरि त्यसबाट हुनसक्ने क्षतिको आकलन गरि ब्यवस्थापनको तयारी भईरहेको बताए । महालक्ष्मी नगरपालिकामा एउटा खानीका कारण जोखिममा भएको बस्तीलाई ब्यवस्थापन गर्न खोजिएको उनको भनाई छ । नगरपालिकाले आवश्यक पर्ने सामाग्रीको जोहो गर्ने काम भएको र जिल्ला विपद् ब्यवस्थापन समितिको निर्देशन अनुसारको सबै तयारी रहेको बताए ।

वर्षालागेसँगै विपद्को जोखिम बढ्दैजाँदा त्यसबाट हुने क्षती न्युनिकरणको लागि धनकुटामा हुनसक्ने विपद् जोखिम न्युनिकरणका लागि पूर्व तयारी गरिएको छ । नेपाली शेना, नेपाल प्रहरी, राष्टिय अनुसन्धान सहितको जिल्ला विपद् ब्यवस्थापन समिती पुर्ण तयारी अबस्थामा रहेका छन् समितिले तत्कालिन र दिर्घकालिन समस्याको पहिचान गरी समाधानमा स्थानीय तह, सुरक्षा निकाय, प्रशासन समेतको संयुक्त प्रयास गरिने उनीहरुले बताएका छन् । तटीय क्षेत्रमा रहेका नागरिकलाई सचेत र सुसुचित गराउनका लागि स्थानीय तह र सुरक्षा निकाय तयारी अबस्थामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *