महाकालीको बहाव खतराको सतहभन्दा माथि, आसपासका बस्ती डुबानमा

धनगढी । महाकाली नदीमा पानीको बहाव खतराको सतहभन्दा माथि पुगेको छ । सुदूरपश्चिममा भइरहेको लगातारको वर्षाले गर्दा नदीले खतराको सतह पार गरेको हो । भारतसँगको सीमा क्षेत्रमा दार्चुला हुँदै कञ्चनपुर भएर बग्ने नदीमा पानीको बहाव बढ्दा आसपासका बस्ती जोखिममा परेका छन् ।

दार्चुलालामा दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको देखाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार राति १० बजे सूचना जारी गरेर सतर्क रहन सबैमा सूचना जारी गरेको थियो ।

शनिबार बिहान केही घटेको पानीको बहाव दिउँसो फेरि बढेको प्रशासनले जनाएको छ । कञ्चनपुरमा नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ्ग गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका महाकाली नदी किनार क्षेत्रका बासिन्दाले सचेतना अपनाउन भनिएको छ । शुक्रबार राति पहाड दार्चुलामा नदीको सतह बढ्दा तराई कञ्चनपुरको नदी आसपासको बस्ती जोखिममा परेको छ ।
महाकाली नदीमा पानीको सतह बढेसँगै आसपासका खोलानाला र निर्माणाधीन चार लेनको पक्की पुलका संरचनामा समेत क्षति पु¥याएको छ । महाकाली नदीमा पानीको बहाव बढेसँगै भीमदत्त नगरपालिका १२ ऐरी स्थित नदी थुनिएर १०/१२ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

उनकाअनुसार बिहानको तुलनामा दिउँसो महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । बाढी जोखिमयुक्त क्षेत्रमा प्रहरी टोली तयारी अवस्थामा रहेको उनले बताए ।

महाकाली नदी दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर र कञ्चनपुर हुँदै बग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *