एमाले विवाद

एमालेका दुबै पक्षबीच लगातार सम्वाद, संयुक्त बैठक चाँडै बस्नसक्ने

काठमाडौं । नेकपा एमालेलाई एकताबद्ध गर्ने प्रयासस्वरुप शुक्रवार (आज) पनि दुई पक्षबीच छलफल भएको छ । ललितपुरको होटल समिटमा भएको छलफलका क्रममा ०७५ जेठ २ कै अवस्थामा लगेर पार्टी एकतालाई कायम राख्ने सहमति भएको संस्थापन पक्षका नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । मकालु खबरसँग कुराकानी गर्दै नेता नेम्वाङ्गले भने— ‘हामी औपचारिक वा अनौपचारिक रुपमा लगातार सम्वादमा छौँ । हाम्रो उद्देश्य एउटै हो पार्टी एकता कायम रहोस् भन्ने ।’

नेता नेम्वाङ्गकाअनुसार पूर्वमाओवादी पृष्ठभूमिका एमाले नेताहरुसमेतलाई समेट्दै पार्टी एकता कायम राख्ने प्रयास लगभग सफल भएको छ । ‘सबै नेताहरुलाई र सबै पार्टी कमिटीहरुलाई मिलाउँदै समेट्दै कसरी अघि बढ्न सकिन्छ भनेर हामी अहिले पनि छलफलरत छौँ । नेकपाबाट एमालेमा आउनुभएका साथीहरुलाईसमेत मिलाएर लाने हाम्रो नीति हो । र, लाग्छ यसमा हामी सफल हुन्छौँ,’ नेता नेम्वाङ्गले भनेका छन् । नेता नेम्वाङ्गकाअनुसार संयुक्त बैठकसमेत छिट्टै बस्न सक्नेछ । उनले भनेका छन्— ‘त्यो अवस्था सिर्जना गर्नेसमेत काम गरिरहेका छौँ ।’

आजको बैठकमा संस्थापन पक्षबाट नेता नेम्वाङ्गसँगै विष्णुप्रसाद पौडेल सहभागी थिए भने इतर पक्षबाट त्रयनेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी थिए । बैठकबाट ०७५ जेठ २ कै अवस्थाबाट पार्टीलाई एकढिक्का बनाउने सहमति भएको छ । यसअघि गठित १० सदस्यीय कार्यदलको संयोजकसमेत रहेका नेता नेम्वाङ्गले चाँडै संयुक्त बैठक बसाउनेगरी सहमतिनजिक पुगेको बताएका छन् ।

पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीले लचकता अपनाएको र लगातार बैठक तथा सम्वादहरु भइरहेको उनीनिकट नेताहरुले दाबी गर्दै आएका छन् । ओलीनिकट एक नेताले मकालु खबरसँग भने— ‘उहाँ (ओली) ले पार्टीलाई एक बनाउनको लागि लचकता अपनाउनुभएको छ । यसैकारण लगातार सम्वाद तथा छलफलहरु भइरहेका छन् । हामी सबैको बुझाइ छ, पार्टी एकता कायम रहन्छ । र पार्टी पहिलेजतिकै राम्रो र अझ सुदृढ हुन्छ ।’ पार्टी जेठ २ कै अवस्थामा आएर मिल्नेमा शंका नरहेको ती नेताको भनाइ छ । भन्छन्— ‘उहाँहरुको बटमलाइन् भनेको जेठ २ नै हो । पार्टी त्यही बिन्दुमा आएर मिल्छ ।’

श्रोतकाअनुसार संस्थापन पक्ष जेठ २ अघिकै कमिटीको बैठक बोलाएर त्यही बैठकमार्फत पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाईलाई समेत समायोजन गरेर अगाडि जाने मनसायमा छ । स्रोत भन्छ— ‘उहाँहरु (पूर्वमाओवादी पृष्ठभूमिका नेता) लाई यथावत् जिम्मेवारी दिएर पार्टी समायोजन गर्ने योजना छ । त्यसो हुँदा पार्टी बलियो हुन्छ भन्ने रिडिङ्ग हाम्रो हो । अहिले देखिएको विवाद खाली अगाडिको विवादको असर मात्रै हो । हामीलाई लाग्छ, त्यो नीति अपनाइयो भने विपक्षीको रुपमा देखिएको एमाले पनि यो कुरामा सहमत हुन्छ । किनकी दह्रो हुने भनेको त आखिर एमाले नै हो ।’

नेताहरुले लगातारको वार्ता सकारात्मक रहेको बताएपनि विपक्षी एमालेभित्रमा माधवकुमार नेपाल, भीम रावललगायतका नेताहरुले संशय व्यक्त गरिरहेका छन् । यी नेताहरुले बिनासर्त पार्टी ०७५ जेठ २ मा फर्किनुपर्ने बताउँदै आएका छन् । तर संस्थापन पक्ष सिधै जेठ २ मै फर्किन सक्ने स्थितिमा देखिँदैन । यसकारण संस्थापन पक्ष संयमित भएर वार्तामा जुटिरहेको छ ।

पार्टी नेकपा नै रहेको बखत गत वर्षको पुस ५ गते पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पहिलो पटक संसद् विघटन गरेपछि दुई फ्याक भएको एमाले अझैसम्म एक हुन सकेको छैन । समानान्तर गतिविधि गर्दै विपक्षी एमालेको भूमिकाबाट अगाडि बढिरहेको नेपाल—खनाल पक्षको स–सर्त माग जेठ २ कै पार्टी कमिटी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *