मेलम्ची अपडेट : ‘२३ जना सम्पर्कविहीन, ४७ जनाको उद्धार’

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीका कारण बेपत्ता भएका ४७ जनाको उद्धार गरिएको छ ।

सिन्धुपाल्चोकका प्रजिअ अरुण पोखरेलकाअनुसार बेपत्ता भएका ४७ जनाको उद्धार नेपाली सेना गरेको हो । यस्तै २३ जना अझै सम्पर्कविहीन रहेको प्रजिअ पोखरेलले बताए । मकालु खबरसँग प्रजिअ पोखरेलले भने— ‘उद्धार त ४७ जनाको भयो । सम्पर्कविहीनहरुको सन्दर्भमा चाहिँ उहाँहरु सम्पर्कमा आउनुभएको छैन । त्यो भएर सम्पर्कविहीन भनिएको हो । उहाँहरु आउन पनि सक्नुहुन्छ । ७० जनामा ४७ जनाको उद्धार हुँदा अरु सम्पर्कविहीन हुनुहुन्छ । उहाँहरुको सन्दर्भमा अझै पुष्टि हुन बाँकी छ । अहिलेलाई सम्पर्कविहीन नै हुनुहुन्छ ।’

मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि उनीहरु अलपत्र परेको प्रजिअ पोखरेलले बताए । ‘हेलम्बु गाउँपालिका –१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फसेका थिए । उहाँहरुको उद्धार गरिएको हो,’ प्रजिअ पोखरेलले भने । उद्धार गरिएका र घाइते भएकाहरुलाई धुलिखेल अस्पताल पुर्याएको छ ।  ‘हेलिकप्टरले ३/४ खेप गरी कामदारहरुलाई उद्धार गरेर धुलिखेल अस्पतालमा राखिएको छ,’ प्रजिअ पोखरेलले भनेका छन् ।

गएराति बाढी आउँदा कतिपयले भागेर ज्यान बचाए भने धेरैको संख्यामा सम्पर्कविहीन भएका छन् । प्रजिअ पोखरेलले भने— ‘केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् । खोजी कार्य भइरहेको छ । सुरक्षाकर्मीदेखि लिएर स्थानीयहरुको सपोर्टमा यो कार्य भइरहेको छ ।

अविरल वर्षासँगै आएको बाढीले अन्य जिल्लासमेत प्रभावित बनेको छ । यस्तै  मनाङको चामे गाउँपालिकामा पनि बाढीकै कारण ४० घर पुरिएका छन् । तर, मानवीय क्षति भने नभएको गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए । मकालु खबरसँग अध्यक्ष घलले भने— ‘घरहरु विस्थापित भइसकेका छन् । आवतजावत गर्न कठिन छ । खुसीको कुरा भन्नुपर्छ, मानवीय क्षति भने गाउँपालिकाले ब्यहोरेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *