बाढी/पहिरो

मनाङमा ४० घर बगायो, मानवीय क्षति भने भएन

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढीपहिरोले मनाङको चामे गाउँपालिकामा ४० घर बगाएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले मकालु खबरसँग भने‚ ‘उद्धार र राहत कार्यलाई जारी राखेका छौँ । गाउँमा बस्न सकिने अवस्था छैन । घरहरु विस्थापित भइसकेका छन् ।’

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको अध्यक्ष घलेले बताए । उनले भने‚ ‘कहाँ कतिको क्षति भयो पूर्ण विवरण आइसकेको छैन । सरसरती हेर्दा धेरैको क्षति भएको छ ।’

बाढीले संरचनाहरू भत्किँदा आवतजावतमा पनि समस्या निम्तिएको अध्यक्ष घलेको भनाइ छ । ‘आवजतजावतमा समस्या भएपछि क्षतिको पूर्ण विवरण आउन सकेको छैन, हिँड्डुल गर्न सकिने अवस्था छैन,’ अध्यक्ष घलेले भनेका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङसँगै सिन्धुपाल्चोकलगायतका जिल्लामा ठूलो मात्रामा क्षति पुर्‍याएको छ । ठाउँठाउँमा आएको बाढी पहिरोमा परी दर्जनौंको ज्यान गएको छ भने सयौं बेपत्ता भएका छन् । यसपछि सरकारले विपद् प्रतिकार्य योजना पारित गरेको छ । सबै मन्त्रालयलाई परिचालन गर्नेगरी प्रतिकार्य योजना पारित गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव देव खनाल जानकारी दिए ।

मकालु खबरसँग भने‚ ‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपद् प्रतिकार्य योजनालाई आजको बैठकले पारित गरेको छ ।’

यता विभिन्न राजनीतिक दलहरुले पनि आफ्ना नेता/कार्यकर्ताहरुलाई राहत तथा उद्धारको काममा लाग्न निर्देशन दिएका छन् । सोहीअनुसार बाढीपहिरो पीडितहरुको उद्धार तथा राहतको काम भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *