गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

घोराही । दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ ।

गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो ।

गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा तीन विद्यालयका ७०० बढी किशोरीको परीक्षण सम्पन्न भएको छ ।

जनता माध्यमिक विद्यालय, शुभतारा इङ्लिस बोर्डिङ स्कुल र ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुल गरी तीन विद्यालयका ७४५ किशोरीको परीक्षण गर्दा ५३७ जनामा रक्तअल्पता देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिस्ट उज्ज्वलकुमार पौडेलले जानकारी दिए ।

गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले किशोरीको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्तअल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार यही असार ८ गते गढवा गाउँपालिका–३ का थप तीन विद्यालयका किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

किशोरीमा उच्च दरमा रक्तअल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =