बाढी/पहिरो

राहत प्याकेज घोषणाको माग गर्दै कांग्रेसले भन्यो- उद्धारको काम यद्धस्तरमा गरौँ

काठमाडौं । नेपाली कांग्रेसले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्लालगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेसले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेको हो ।

सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।’ यस्तै कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाइृ उद्धार तथा राहत कार्यमा जुट्न निर्देशनसमेत दिएको छ । ‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपतिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु ।’

यसैबीच नेता प्रकाशमान सिंहले बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । नेता सिंहले भनेका छन्— ‘देशभर बाढी पहिरोको मारमा पर्नुभएका आम नागरिकको दुःखमा सबैले आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई म हार्दिक अपिल गर्दछु । सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस्, घाइतेहरुको उपचार, विस्थापितको व्यस्थापनमा कुनै कसर बाँकी नहोस् ।’

असार १ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी÷पहिरोमा परी दजनौंले ज्यान गुमाएका छन् भने सयौं बेपत्ता भएका छन् । माओवादी केन्द्रलगायतका दलहरुले पनि यथाशिघ्र राहत तथा उद्धार कार्यमा जुट्न भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *