आयोगको निर्णयबिरुद्ध कानुनी लडाईं लड्छौं : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको पछिल्लाे निर्णयबिरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने बताएका छन् । आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको भन्दै यादबले यसबिरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाईं जारी रहने उनले बताएका हुन् ।

मंगलबार विज्ञप्ति निकालेर उनले आयोगको निर्णयले  तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको बताएका छन् । उनले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको भन्दै आयोगको निर्णयको विराेध पनि गरेका छन् ।

‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षामाथि नै गम्भीर शंका उत्पन्न भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

यादवले जेठ १७ गते जसपाको कार्यकारिणी समितिको बहुमतबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरी निर्वाचन आयोगमा रहेको दर्ता किताबमा सच्याउन पत्र बुझाएका थिए । अर्का अध्यक्ष महन्थ ठाकुरले पनि यादवलाई निष्कासन गरी आयोगमा पत्र दिएका थिए, तर उनले केन्द्रीय कार्यकारिणी समितिको बहुमतको हस्ताक्षर भने बुझाउन सकेका थिएनन् ।

यसबारे आयोगले जेठ ३० गते निर्वाचन आयोगले दुवै पक्षले गरेको निष्कासनको कारबाही अमान्य हुने निर्णय गरेको थियो । पार्टीको कार्यकारिणी समितिको बहुमतले निर्णय गर्दा पनि अस्वीकार गर्ने निर्णय गर्नु अमान्य हुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *