स्याउ बाजे (कविता)

स्टिभ जब्सले
अलिकति टोकेर जुठो पारेको स्याउको दाना
विश्व बजार डुल्छ पातको जुल्फी हल्लाउँदै ।
यता मुस्ताङमा
बिल्कुल गुमनाम छन्
‘ओम माने पेमे हुम्’ जपिरहने स्याउ बाजे ।

उनै हुन्
जसले गरे केवल स्याउको बोटसँग अमर प्रेम
त्यही रसिली बोटसँग गरे घरजम
खर्चिए ऋतुका सयौँ चक्र
र जन्माए बीसौँ हजार सन्तानहरू…!
उनै हुन्
जसले चखाए देशलाई मुस्ताङे स्याउको चोखो स्वाद
उनै हुन्
जसले रोके काश्मिरी स्याउको दादागिरी ।

तर यो देश चिन्दैन तिनै स्याउ बाजेलाई ।
देशको लागि
मुस्ताङ भनेको केवल
धवलागिरी, मुक्तिनाथ र लोमन्थाङ हो
बगरमा फल्ने सालिग्राम र बारीमा फल्ने स्याउ हो
मुस्ताङ भनेको केवल त्यही डाँफे हो
जो मार्फामा सुनको अण्डा पार्छ
मुस्ताङ भनेको केवल त्यही हाकिम हो
जो राजस्व उठाउँछ
र अर्थतन्त्र थेगेको झुटो भाषण दिन्छ ।

यो देशका लागि सिर्फ एक नबिक्ने माल हो
स्याउ बाजे
श्रमको बहुमूल्य गीत गाएर पनि
जो सधैँ गुमनाम हुन्छ ।
तर कण्ठ छ देशलाई स्टिभ जब्स
जसले
अलिकति टोकेर जुठो पारेको स्याउको दाना
विश्व बजार डुल्छ पातको जुल्फी हल्लाउँदै ।

नारसिंग गुम्बाको माने घुमाउँदै
हेर्छन् स्याउ बाजे उदास उदास
धुपीसल्ला र बैँसका पातहरू बटुलेर
सुसेल्दै सुसेल्दै बग्ने कालीगण्डकी ।
जसको भाँचिएको ढाड तरेर
विदेश हिँडिरहेका छन् नौजवानहरू ।
गम्छन् स्याउ बाजे-
ती पनि त हुन् स्याउका बिरुवा
जो चिसो हावामा सिङ्गान पुछ्दै हुर्किए र फूले
तर फल्नलाई त रोजेका छन् तिनीहरूले
जापान, अमेरिका वा युरोपको बारी !

000

(मुस्ताङमा स्याउ खेतीको प्रवर्द्धन तथा मुस्ताङे स्याउको परिचय र बजार विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका बुद्धिरत्न शेरचन (स्याउ बाजे) को निधन भएको छ । बुद्धिरत्नले मुस्ताङलाई स्वादिलो स्याउको जिल्ला बनाएका थिए । देश विदेशमा चिनाएका थिए । जसका कारण उनको नाम नै स्याउ बाजे रह्यो । मुस्ताङका लागि मात्र नभएर पूरै देशका लागि मुस्ताङे स्याउ ठूलो उपलब्धी हो, तर सत्ताका लागि यो कुरा कहिल्यै महत्वपूर्ण बनेन ।

मुस्ताङबाट कवि सुशील थकालीले फोन गरेर बुद्धिरत्न शेरचन बित्नुभएको दु:खद खबर सुनाउनु भयो । भन्नुभयो, ‘दाइ कसैले सम्झेन उहाँलाई ।’ सुनेर नरमाइलो लाग्यो । देशले कैयन यस्ता असल धरतीपुत्रलाई चिन्दैन । मिडियामा आए पो चिन्ने ? उनले चिनिने भोकले कर्म गरेका पनि थिएनन् । केही स्थानीय अनलाइनबाहेक ‘मूलधारे’ अनलाइनमा यो खबरले स्थान पाएन । ‘प्रमुख मिडिया’ त देशका लागि सिन्का नभाँच्ने तर कुर्चीका लागि जे पनि गर्ने नेताहरूका कुण्ठा, अहङ्कार र वान्ता पस्किन व्यस्त रहन्छन् सधैँ । र हामी तिनै बिखालु शब्दवान्ता पढेर जीवन खराब गरिरहन्छौँ । बुद्धिरत्नका योगदानका खबरहरू इतिहासको गर्तमा धकेलिन्छन् ।

भूपी स्मृति पुस्तकालयको निम्तो र प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा मुस्ताङ जाँदा हामीले ती श्रद्धेय स्याउ बाजेलाई भेटेका थियौँ । उहाँको योगदान सुनेर चकित परेका थियौँ । पछि सल्लाह गरेरै रोशन शेरचनले निबन्ध अनि मैले कवितामा स्याउ बाजेलाई लेखेका थियौँ । उहाँबारे थप काम गर्ने विचार गर्दा गर्दै उहाँ बितेको खबर आयो । प्रिय स्याउ बाजे, यस देशमा स्वादिलो मुस्ताङे स्याउ रहने बेलासम्म तपाईंको मृत्यु हुने छैन ।)
(उनै स्याउ बाजेको श्रद्धाञ्जली स्वरुप कवि भूपिनले फेसबुकमा राखेको स्टाटस देखेपछि  उल्लेखित कविता ‘स्याउ बाजे’ पाठक समक्ष प्रस्तुत  गरेका हाैं। )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *