ज्ञानेन्द्र शाहीको समूहका केही घाइते- ज्ञानेन्द्र भन्छन् आक्रमण, प्रहरी भन्छ झडप

काठमाडौं । झडपमा परी ज्ञानेन्द्र शाहीको समूहका केही सदस्य घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजेतिर भएको झडपमा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । शाहीले भने आफूहरुमाथि आक्रमण भएको दाबी गरेका छन् ।

सुर्खेत प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको मकालुखबरलाई बताए । ‘यो आक्रमणभन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको छ । पाँच जनालाई पक्राउ गरिएको छ । अहिले अनुसन्धान भइरहेको छ,’ भट्टले भनेका छन् ।

शाहीले भने दुई समूहबीचको झडप नभएको र आफूहरुमाथि योजनाबद्ध रुपमा आक्रमण भएको बताएका छन् । ‘यो सरासर झुट हो,’ शाहीले भने— ‘हामी जाँदै गर्दा हाम्रो गाडी कुरेर आक्रमण भएको हो । दुई समूहबीचको झडप हुँदै होइन ।’
शाहीकाअनुसार राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको हो ।

शाहीले आफ्नो समूह निषेधाज्ञाका कारण खान नपाएकाहरुलाई सहयोग गर्न सुर्खेत गएको दाबी पनि गरेका छन् । ‘हामी करेखोलामा खाना खाएर फर्किरहेका थियौँ । त्यसबेला योजनाबद्ध तरिकाबाट हामीमाथि आक्रमण भयो । हामी निषेधाज्ञाका कारण खान नपाएकाहरुलाई सहयोग गर्न भनेर जाँदै थियौँ,’ शाहीको भनाइ छ ।

उनले एसपीकै मिलेमतोमा आफूहरुमाथि आक्रमण भएको पनि बताएका छन् ।

घर ढलान गर्नेहरुले आक्रमण गरेको प्रजिअको दाबी
सुर्खेतका प्रजिअ छविलाल रिजालले भने घर ढलान गर्नेहरुले शाही समहूमाथि आक्रमण गरेको बताए । ‘मैले जानकारी पाएअनुसार त्यहाँ नजिकै एउटा घर ढलान गर्नेहरुले भोज खाएका रहेछन् । उनीहरुले आक्रमण गरेको बुझेको छु । उहाँहरु करेखोला नजिकै आफन्तकोमा खाना खाएर फर्किँदै गर्दा आक्रमण भएको रहेछ । एक हिसाबले बुझ्दा त्यो दोहोरो झडपजस्तो पनि रहेछ,’ रिजाल भने ।

यस्तै प्रजिअले घटनामा कुनै राजनीतिक कारण नभएको प्रष्ट्याए । भने— ‘घटनाको प्रकृति बुझ्दा कुनै राजनीतिक पूर्वाग्रहका कारण घटना भएको होइन । भोज खानेहरु केही मदिरा सेवन गरेका थिए कि भन्ने आशंका भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *