प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने वैद्यले उन्मुक्ति पाउँदैनन् : प्रवक्ता शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा एक कांग्रेस सांसदले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दिएको अभिव्यक्तिप्रति प्रवक्ता शर्माले आपत्ति जनाएका हुन् ।

वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन् । त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु ।’ गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

वैद्यलाई आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहने प्रवक्ता शर्माले बताए । तर्कले आपत्तिजनक शब्द छोप्ने पार्टीको परम्परा नरहेको उनको भनाइ छ ।

सांसद वैद्यको अभिव्यक्ति सार्वजनिक हुना साथ प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन !’

वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा कांग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्ष समेत हुन् । वैद्यले यस्तो अभिव्यक्ति दिंदा पनि प्रदेशसभामा न कसैले नियमापत्ती जनायो, न त सभामुखले नै रोके । संसदमा आपत्तीजनक वा अमर्यादित अभिव्यक्ति आए रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *