कोरोना संक्रमणबाट मृत्यु भएकालाई ५० हजार

जनकपुरधाम । धनुषाका एक स्थानीय तहले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेकाको परिवारजनलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । जिल्लाको क्षीरेश्वनाथ नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारजनलाई राहत स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले २०७८ वैशाख १ पछिका कोरोना संक्रमितहरुलाई राहतस्वरुप विभिन्न प्याकेज समेत घोषणा गरेको छ । राहतहरुमा मृतकका परिवारजनलाई ५० हजार रुपैयाँ, संक्रमित भई अस्पतालमा उपचाररतलाई १५ हजार तथा संक्रमित भई होम आइसोलेसनमा रहेकालाई ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पंजियारले जानकारी दिए ।

उक्त राहत लिनलाई आवश्यक कागजातहरुसहित नगरपालिका कार्यालयमा सम्पर्क गर्न समेत मेयर पंजियारले आग्रह गरेका छन् ।

यसअघि होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई घर-घरमै स्वास्थ्यकर्मी खटाई स्वास्थ्य उपचार गर्ने गरेको नगरपालिकाले प्रत्येक वडामा निःशुल्क पीसीआर जाँचको व्यवस्थासमेत मिलाएको मेयर पंजियारले बताए । कोरोना संक्रमणको भयावह यस्तै रहेमा आगामी आर्थिक वर्षको बजेटमा कोरोनो महामारीको अग्रीम तयारीका लागि विशेष बजेटको प्याकेज ल्याउने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *