सर्वोच्चको आदेशविरुद्ध ‘भ्याकेट’मा जाँदै एमाले

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका ४ सांसदलाई पुनःबहाली गर्न अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले उक्त आदेशविरुद्ध ‘भ्याकेट’मा जाने तयारी थालेको छ । नेता सुवासचन्द्र नेम्वाङ्गले भने— ‘हामी तयारीमा छौँ । हिजो कर्णाली प्रदेशको सन्दर्भमा भएको आदेशमा सबै हिसाबले केही प्रश्नहरु छन् । हाम्रो तर्फबाट भ्याकेटमा जान्छौँ ।’

अदालतको फैसलालाई सम्मान गर्दै आफूहरु अदालत जाने तर, अनावश्यक दबाब सिर्जना नगर्ने नेता नेम्वाङ्गको भनाइ छ । ‘भ्याकेटमा जाने छौँ । त्यसको मतलब अनावश्यक दबाब दिने होइन,’ नेता नेम्वाङ्गले भनेका छन्— ‘अदालतको फैसला आफ्नो ठाउँमा हुन्छ, अदालतलाई हामी सम्मान गर्छौँ । जतिसुकै यो कुरा बेठिक हो भन्ने लागेपनि अदालतको फैसलालाई मान्छौँ । हामी अदालतलाई अनावश्यक दबाब पनि दिँदैनौँ । अदालतलाई पर्खिन्छौं, निर्णय सुन्छौँ र मान्छौँ अनि निर्णयलाई कार्यान्वयन गर्छौँ । कर्णाली प्रदेशका सांसदहरुको सन्दर्भमा यही नै हो ।’

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनःबहाली गर्न आदेश दिएको थियो । उनीहरूलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन भनिएको छ ।

‘फ्लोर क्रस’ गरेको भन्दै ४ सांसदलाई पार्टीले कारबाही गरेको थियो । त्यसपछि उनीहरुले आफूहरुमाथिको कारबाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । तत्पश्चात् उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।

उनीहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकार जोगाइदिएका थिए ।  उनीहरुमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *