जन्मदिनको दिन राजेश हमालबारेका केही जानकारी

काठमाडौं । राजेश हमाल नेपाली चलचित्र जगतमा लामो समय एकछत्र राज गरेका नायक हुन् । अंग्रेजी साहित्यको अध्ययन गरेका राजेश चलचित्र क्षेत्रमा लागेपछि उनको परिवारले शुरुमा फिटिक्कै रुचाएको थिएन । राजेश कला क्षेत्रमा लागेकोमा कुटनीतिक क्षेत्रका उनका पिता खुशी थिएनन् । तर राजेश भने चलचित्र क्षेत्रमा बढी नै सम्मोहित थिए । यता राम्रो काम गरेर सबैको मन जितेर बुबालाई पनि मनाउँछु भन्ने अठोटका साथ चलचित्र नगरीमा प्रवेश गरेका उनले बुबालाई मनाउन नपाउँदै उनका बुबाको निधन भयो । यो पक्ष आफ्नो जीवनको सर्वाधिक दुःखद क्षण भएको राजेशले बताउने गरेका छन् ।

पाल्पामा सन् १९६४ मा जन्मिएका राजेश हमालको आज जन्मदिन । मकालुखबरको तर्फबाट उनलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनीबारेका केही जानकारी :

पहिलो चलचित्रबाट निकाला, सँगै काम गर्न करिष्माले मागेकी थिइन् धेरै पारिश्रमिक
अभिनेता राजेश हमाललाई पहिलो चलचित्रबाट निकालिएको थियो । अभिनयमा रुची भएका हमालले आफ्ना मामा दीपक रायमाझीसँग अनुनय विनय गरेर चलचित्र ‘भाग्यरेखा’ मा काम गर्ने अवसर पाएका थिए । तर उनलाई उक्त चलचित्रबाट निकालियो । पहिलो चलचित्रमा नै अभिनेत्री कृष्टि केसीसँग नाम जोडिएपछि रुष्ट बनेका उनका मामाले दुवैलाई चलचित्रबाट निकालिदिए ।

राजेश हमालको 'क्रेज' झल्काउने एउटा तस्वीर… « Khabarhub

कृष्टिभन्दा पहिला उक्त चलचित्रमा करिष्मा मानन्धरले काम गर्ने कुरा थियो । तर करिष्माले नयाँ हिरोसँग काम गर्दा बढी पारिश्रमिक मागेपछि उनको स्थानमा कृष्टिको इन्ट्री भयो । राजेशले चलचित्र डेब्यू गर्दै गर्दा करिष्मा चलचित्र जगतमा स्थापित भइसकेकी थिइन् । तर पछि गएर राजेश र करिष्माको जोडीलाई दर्शकले धेरै मन पराए ।

सोही टिमबाट डेब्यू
दुई वर्षपछि रायमाझीको टिमले नै राजेशलाई पुन: कामको लागि बोलायो । पहिला केही काम गरेपछि छायांकन रोकेर राजेशलाई निकालेको टिमबाटै उनले डेब्यू गरे । वरिष्ठ निर्माता छविराज ओझाको डेब्यू निर्माण रहेको ‘युगदेखि युगसम्म’ चलचित्रमार्फत् उनले अभिनय यात्रा तय गरे । चलचित्र सुपर डुपर हिट भयो । यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

उनले कतिपय समयमा एकै दिनमा ४ सिफ्टसम्म काम गर्ने गर्थे । राजेशको वाहवाही भएको समयमा निर्माताले वर्षौं कुरेर समेत उनलाई लिएर चलचित्र बनाउथे । उक्त समय धेरै निर्मातालाई बचाएको र निर्माताको काठमाडौंमा घर बन्नुमा राजेशको हात रहेको कलाकार राजेन्द्र खड्गी बताउँछन् ।

आफ्नै जोकमा रमाउने
राजेश हमालको क्रेजका करण धेरै फ्यान क्लब र पेजहरू खुलेका छन् । राजेश हमाल जोक्स नाम राखेर राजेशसम्बन्धी जोक बनाउने एउटा अलग्गै समूह समेत छ । उनै राजेश भने आफूबारेका यस्ता जोक सुनेर मजा लिने गर्छन् । सामान्य गफगाफदेखि अन्तर्वार्ताहरूमा उनी आफ्नै जोक सुनाएर दर्शक हसाउँछन् । आफूलाई यस्तो जोक देखेर खुसी लाग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘दर्शकको माया न हो ।’ उनलाई मनपर्ने जोकमा भूकम्प र उनको मोबाइलको भाइब्रेसन, महादेवको त्रिशुल र चाउमिनलगायत पर्छन् ।

ढिलो विवाह र सन्तानको चर्चा
राजेशको युवा अवस्था चलचित्र, अभिनय र काममा नै बित्यो । धेरै नायिकाहरूसँग प्रेमको चर्चा चले पनि उनले विवाह भने ढिलो गरे । उनले करिब आधा उमेरकी प्रेमिका मधु भट्टराईसँग ५० वर्षको उमेरमा विवाह गरे । ७, ८ वर्षको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे । केही समय मोडलिङ गरेकी मधु अहिले घरमै बसिरहेकी छन् ।

श्रीमती मधुसँग घुमघाममा व्यस्त छन् राजेश हमाल (तस्बिरसहित)

पछिल्लो समय राजेश पनि चलचित्रमा देखिएका छैनन् । चलचित्रको अलावा उनी रियालिटी शो सञ्चालन तथा म्युजिक भिडिओमा भने देखिरहेका छन् ।

उनलाई पछिल्लो समयमा सर्वाधिक सोधिने प्रश्न बनेको छ-बुबा कहिले बन्ने ? तर उनले भने यो प्रश्नलाई हाँसेरै टार्ने गरेका छन् । वर्षोंसम्म बिहे कहिले गर्ने ? भन्ने प्रश्न सुन्दासुन्दा हैरान बनेका उनी बाबु बन्ने प्रश्न पनि झेलिरहेका छन् ।

बुबालाई खुसी बनाउन सकेनन्
राजेशको आमा बुबालाई अभिनयप्रतिको रुचि मन परेको थिएन । उनले चलचित्रमा अभियन गर्ने भएपछि उनका बुबा एकदमै दुःखी भएका थिए । राजेशले बुबालाई मनाउन नपाउँदै उनले संसार छोडे ।

बाबुले आफ्नो सफलता देख्न नपाएकोमा भने उनलाई दुःख लाग्छ । अध्ययनशील परिवारका हमालले पढेको विषय अङ्ग्रेजी साहित्य र छानेको क्षेत्र अभिनयप्रति परिवारको असन्तुष्टि लामै समय चल्यो ।

प्रतिक्रिया

One thought on “जन्मदिनको दिन राजेश हमालबारेका केही जानकारी

  1. जन्मदिन को लाखौ लाख शुभकामना महानायक ज्यु। यही जोश जाँगर र उत्साह तथा युवा जोश अनन्त काल सम्म रही रहोस् र नेपाली चलचित्र क्षेत्रमा अझै हजुर को योगदान रहोस्। नेपाल पहिले को नेपाल नभय पनि राजेश हमाल पहिले कै जस्तो ससक्त र दमदार होस्। जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *