देशव्यापी लकडाउनको समयावधि फेरि थप

ढाका । कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएकाले बङ्लादेशमा लगाइएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशव्यापी लकडाउन फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

लकडाउनलाई अझै कडा बनाउदै लगिने पनि उनीहरुले बताएका छन् । महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनु परेको उनीहरुको भनाइ छ ।

यसअघि लागु गरिएको लकडाउन सोमबार सकिने भएकाले भोलि मंगलबारदेखि लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो ।
बङ्लादेशमा कोरोनाभाइरसको महामारी फैलिएपछि लामो समयदेखि लकाडाउन जारी रहेको छ । यसअघि पनि लकडाउनको समयावधि पटक पटक थप गरिएको थियो ।

अहिले थप गरिएको लकडाउन आगामी जुन १६ को मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

लकडाउनको म्याद थप गर्ने बारेमा सरकारी अधिकारीहरुले सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गरेका थिए । उनीहरूको सुझाव र सिफारिसका आधारमा मन्त्रीपरिषद्ले लकडाउनको समयावधि थप गरिएको अधिकारीहरुको भनाइ छ ।

बंलादेशमा अहिले जारी रहेको लकडाउन गत अप्रिल ५ देखि सुरु भएको हो । सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन घोषणा गरिएको थियो ।

बंलादेशको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९७० जना नयाँ सङ्क्रमित थपिएका छन । सोही अवधिमा थप ३० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

बंलादेशमा अहिलेसम्म कुल आठ लाख १२ हजार ९६० जना सङ्क्रमित भएका छन् भने कुल १२ हजार ८६९ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *