काउन्सिलको मर्यादालाई कायम राख्ने गरी अघि बढ्छु-अध्यक्ष बस्नेत

काठमाडाैं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिलको उद्देश्य र मर्यादालाई कायम राख्ने गरी अघि बढ्ने बताएका छन् । आइतबार सञ्चारग्रामस्थित कार्यालयमा पदबहाली गर्दै अध्यक्ष बस्नेतले विगतमा प्रेस काउन्सिलको भूमिका अनुसारको काम नहुँदा प्रश्न चिन्ह उठ्ने गरेको भन्दै त्यसलाई ध्यानमा राख्दै अघि बढ्ने बताएका हुन् ।
सञ्चारमाध्यमलाई अनुगमन गर्ने कामलाई प्रभावकारी बनाउन सके यसको उद्देश्य प्राप्त हुने भन्दै उनले सञ्चारमाध्यमको प्रभावकारी अनुगमनमा काउन्सिलको पहल हुने बताए ।
प्रेस काउन्सिलले गर्ने भूमिका अनुसारको काम गर्न नसक्दा बेलाबेला प्रश्न चिन्ह उठ्ने गरेका थिए । सञ्चारकर्मी/सञ्चारमाध्यमले गरेका राम्रो काम के-के हुन्, गर्न नसकेका र क्षेत्राधिकार बाहिर भएका काम के-के हुन् भनेर प्रेस काउन्सिलले मनिटरिङ गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘मनिटरिङ गरेर त्यसलाई नदोहोर्याउनका लागि सचेत गराउनुपर्ने हुन्छ ।’








