‘चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुने बेला आएको छ’

काठमाडौं । म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन ) नेपाल सरकारको रक्षामन्त्री र तत्पश्चात् २०७८ जेठ २१ गतेसम्म (७ महिना २३ दिन ) प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहेँ । शुरुमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षामन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेँ । यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु । यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पूरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनुभयो । मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनुभयो । नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापतिलगायत सकल दर्जाका साथीहरू, मन्त्रालयका सचिवहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्तिनँ । मलाई समर्थन गर्नुहुने/माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनुभयो । उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै बिर्सने छैन । उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु ।

यसबीच सरकारमा रहेका बेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्बन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन् । तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु । यसबीच कोभिड संक्रमणको महामारीका समयमा मैले ‘उच्चस्तरीय समन्वय समिति’ र ‘कोभिड—१९ संकट व्यवस्थापन केन्द्र’ मा संयोजकका हिसाबले भूमिका खेल्ने काम गरेँ । त्यसबेलाको जटिलतासित गाँसिएर उठेका/उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिनँ । यसबीच मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णयअनुसार सात महिनाको पारिश्रमिक ४,५६,४००।– कोभिड कोषमा बुझाएको छु । सुविधा प्राप्त गरेबापत् राज्यलाई बुझाउनुपर्ने सबै किसिमका दायित्वहरू पूरा गरेको छु ।

मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ गते जेठमा) बुझाइसकेको छु । यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।– बुझाएको छु । पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको छु ।

साथीहरू सबैलाई थाहा छ— म नेकपा (एमाले)को महाधिवेशनबाट निर्वाचित महासचिव । तर, ‘महान र ऐतिहासिक’ भनिएको एमाले—माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिनँ । तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले—माओवादी पार्टीहरूको पूर्वस्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु, म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्बन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु ।

अहिले कतिपयले भन्ने गरेजस्तो ‘सबैतिर छ पार्टी तर, कहीँ पनि छैन पार्टी’जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ । दुर्भाग्य नै हो— यतिबेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ ।

यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिँदैछ । आर्थिक विकास र सम्वृद्धिको अभियानलाई कमजोर पाने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ । यस्तोबेलामा सिंगो राष्ट्रले/आम नेपाली जनताले नेकपा (एमाले)प्रति सुदृढ र जनआधारित नेकपा (एमाले) प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ । यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्नेछ । यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलबन्द हुन हार्दिक अनुरोध गर्दछु ।

प्रस्तुत लेख नेता पोखरेलको फेसबूकबाट साभार गरिएको हो – सम्पादक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *