सेलफोन अर्थात् मोबाइल

तिमी तिम्रो मोबाइलमा कुरा गर्छौ
हाँस्दै-हाँस्दै तिमी कुरा गरिरहन्छौ
तर तिमीलाई थाहा हुन्न,
यो कसरी बनेको छ
न त थाहा हुन्छ यसले कसरी काम गर्छ
तर त्यसले के नै फरक पार्ला र ?

समस्या तिमीमा छ तर
तिमीलाई थाहा छैन ,
जसरी मलाई थाहा थिएन
कंगोमा हजारौँ मानिसहरू देह त्याग गर्छन्,
त्यही मोबाइलका लागि ।

हो, तिनीहरु कंगोमा मर्छन्
कंगोका पहाडहरूमा
सुन र हिरामात्र पाइन्न
कोल्टान* पनि पाइन्छ
र मोबाइलमा त्यही कोल्टान प्रयोग गरिन्छ
यस्तै खनिज पदार्थ नियन्त्रणका लागि
बहुराष्ट्रिय कम्पनीहरू
अन्त्य नहुने युद्धहरू छेड्छन्
र परिणाम:
पन्ध्र वर्षमा पचास लाखको मृत्यु ।

कंगोमा अथाह सम्पत्ति छ तर अफसोस
बताउन चाहान्नन् ती कम्पनीहरुले गरिब जनतालाई –
विश्वको असी प्रतिशत कोल्टान रिजर्भ छ यहाँ
तीन हजार मिलियन वर्षअघिदेखि भनेर ।

नोकिया, मोटोरोला, कम्प्याक, सोनी
यहीँबाट कोल्टान किन्छन् ।
पेन्टागन, न्यूयोर्क टाइम्स पनि
सोही गर्छन्,
यो कुरा थाहा नहोस् भन्ने चाहन्छन् उनीहरू
युद्धविराम पनि देख्न चाँहदैनन्
कोल्टानमाथि प्रभूत्व जमाउनैका लागि ।

सातदेखि दश वर्षका बच्चाहरुले कोल्टान निकाल्छन्
किनकी तिनका साना शरिरहरू
साना दुलाहरूमा सजिलै छिर्छन् ।
दैनिक पच्चीस सेन्टका लागि काम गर्ने कति बच्चाहरू त्यहीँ मर्छन्
कोल्टान पाउडरका कारणले
वा ढुङ्गा फुटाउँदा पुरिएर
न्यूयोर्क टाइम्स पनि यस्ता कुरा जान्न चाहँदैन
र त यस्ता साङ्गठनिक अपराध गुपचुप नै रहन्छन् ।

धर्मशास्त्रले भन्छ- सत्यता‚ न्याय र प्रेम
र सत्यता त्यो हो-
जसले हामीलाई स्वतन्त्र राख्छ
तिम्रो मोबाइलभित्र भएको कोल्टानको पनि
आफ्नै सत्यता छ‚
जसमा हामी कुरा गरिरहन्छौँ
र हाँस्छौँ हाम्रै मोबाइलभित्र ।

अनुवाद : राजकुमार बराल

*कोल्टान- कोलम्बाइट- टेन्टालाइटको छोटकरी रुप‚ जसलाई उद्योगहरूमा टेन्टालाइट भनेर चिनिन्छ ।
(अनुवादक बराल त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यका उपप्राध्यापक हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *