होस्टेल रिटर्नसदेखि चिसो मान्छेसम्मकी स्वस्तिमा

काठमाडौं । स्वस्तिमा खड्काले लकडाउनअघि चलचित्र ‘चिसो मान्छे’को छायांकन सकिन् । काठमाडौंबाट बझाङसम्मको यात्रामा चलचित्र सकिन्छ । चलचित्रभरी नै स्वस्तिमाले एउटैमात्र पहिरन लगाएको बताएकी छन् । स्थानीयले लगाएको पहिरन नै लगाएर उनले अभिनय गरेकी थिइन् । स्थानीय महिलालाई नयाँ पहिरन दिलाएर उनले प्रयोग गरिरहेको पहिरन धुँदा पनि नधोई प्रयोग गरिन् । उनले स्थानीय भाषा सिक्नसमेत लामै समय खर्च गरिन् । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई एक आशालाग्दो चलचित्रका रुपमा लिइएको छ ।

चलचित्र बुलबुलमा गरेको अभिनयका कारण स्वस्तिमाले धेरै प्रशंसा पाइन् । प्रशंसामात्रै होइन, राष्ट्रिय/अन्तर्राष्ट्रिय अवार्डहरू पनि प्राप्त गरिन् । बुलबुलको चरित्रका लागि उनले टेम्पो चलाउन सिकिन् । भाषा शैली, लवज र पहिरनसमेत चरित्रलाई सुहाउने बनाइन् । टेम्पो चालक भूमिकाका लागि उनी अब्बल सावित भइन् । बुलबुलमा मुकुन भुसालसँग उनको जोडी जमेको धेरै दर्शक र समीक्षकले बताएका थिए । विनोद पौडेल निर्देशित यो चलचित्रले स्वस्तिमालाई थप अब्बल कलाकारको रूपमा स्थापित गर्‍यो ।

उनको पहिलो चलचित्र ‘होस्टेल रिटर्न्स’ मा उनले किशोरीको भूमिका निर्वाह गरेकी थिइन् । उक्त भूमिकालाई दर्शकले मन पराए । उनको म्युजिक भिडिओ ‘हनी बनी २-कुची कुची’ पछिको चलचित्रमा मारेको फड्कोलाई दर्शकले सहजै स्वीकारे । अभिनयमा जम्दै गर्दा उनको उमेर र सोहीअनुसारको चरित्र सुहाउँदिलो थियो ।

यो चलचित्रपछि उनको विवाहको कुरा सुरु भयो । निर्देशक निश्चल बस्नेतले विवाहको कुरा चल्दै गर्दा भनेका थिए, ‘उसलाई टिनएजको क्यारेक्टरमा नै सुहाउँदिलो देखिँदैछ । म ‘म्याचोर्ड’ चलचित्र बनाउने सोच्दैछु । उसले उसकै तरिकाको काम गर्दै जाओस् ।’ उक्त समय चलचित्रका लागि नै निश्चलसँग स्वस्तिमाले विवाह गरेको आरोप लाग्ने गरेको थियो । निश्चलले भन्ने गरेका थिए, ‘उसलाई अब्बल कलाकार त भन्दिनँ, तर उसमा सफल बन्न सक्ने क्षमता भने छ ।‘

लकडाउनअघि नै उनले ‘मलायलम’ चलचित्रमा पनि काम सकिन् । उनका अनुसार यो यात्रामा आधारित चलचित्र हो । यस चलचित्रमा उनको सानो तर महत्त्वपूर्ण भूमिका छ । यो चलचित्रलाई लिएर स्वस्तिमा आशावादी छिन् । त्योसँगै अर्को एक अमेरिकी चलचित्रमा समेत उनी र अभिनेत्री केकी अधिकारी हुने पक्का भएको थियो । तर कोरोनाको दोस्रो लहरका कारण चलचित्रको काम सकिएको छ । यो चलचित्रको लागि भने स्वस्तिमा उत्साहित छिन् ।

आफूले सामान्य रूपमा काम गरिरहेको र अहिले नै मैले यो गरेँ भनेर सोचिहाल्ने समय आइनसकेको बताएकी छन् । स्वस्तिमाको चलचित्रपछि नाटकमा अभिनय गर्ने चर्चा चल्दै थियो । चर्चित उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटकको मुख्य भूमिकामा उनी देखिँदैछिन् । उनलाई अरूले थिएटरबाट चलचित्रमा फड्को मारे पनि आफ्नो चाहीँ विपरीत भएको लाग्छ । तर उनका लागि भने काम, काम नै हो, चाहे त्यो चलचित्र होस्, चाहे म्युजिक भिडिओ चाहे नाटक, उनी आफ्नो अभिनयमा निरन्तर लाग्ने बताउँछिन् । यो नाटकभन्दा पहिले लकडाउनले काम पनि रोकिएको छ ।

चलचित्र छान्ने विषयमा उनलाई निश्चलले धेरै सहयोग गर्ने गर्छन् । उनलाई भने स्क्रिप्टभन्दा पनि टिमले फरक पर्ने बताउँछिन् । स्क्रिप्ट त राम्रो चाहियो । तर स्क्रिप्ट राम्रो भए पनि समूह नै चित्त बुझेको छैन भने उनी कामबाट पछि हट्ने गर्छिन् ।

दोस्रो लकडाउनको समयमा चुपचाप बसिरहेकी उनले अहिले भने समस्यामा परेका प्राविधिकहरूलाई सहयोग गर्न आग्रहसमेत गरेकी छन् । चुपचाप सहयोग गर्ने भनेर चिनिने स्वस्तिमाले यो पटक भने अरूलाई सहयोगका लागि आह्वान गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *