एमाले विवाद

‘एकता कायम रहने सम्भावना कम हुँदै छ, भावी कदमबारे चाँडै निर्णयमा पुगौँ’

काठमाडौं । विपक्षी एमालेका नेताहरुले सत्तारुढ एमालेसँगको एकता कायम रहने सम्भावना टर्दै गएको ब्रिफिङ्ग गरेका छन् । यस्तै उनीहरुले भावी कदमबारे आफूहरु चाँडै निर्णयमा पुग्नुपर्ने बताउँदै नेतृत्व माधवकुमार नेपालले भनेका छन्— ‘बालुवाटारले हामीलाई अल्मल्याउन मात्रै खोजेको छ । अब के गर्ने हो चाँडो गरौँ ।’

भर्च्यूअल रुपमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै विपक्षी एमालेको दोस्रो तहका नेताहरुले नेता नेपाललाई यस्तो सुझाव दिएका हुन् । समस्या समाधान गर्नेगरी गठित कार्यदलको समस्यसमेत रहेका दुई नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई उद्धृत गर्दै एक नेताले मकालु खबरसँग भने— ‘त्यही हो उहाँहरुको, जे गरेपनि चाँडो गर्नुपर्ने र थप नअल्मलिनको लागि नेतृत्वलाई झक्झकाउनुपर्ने भन्ने थियो । उहाँहरुले समग्रमा एमाले एक रहने सम्भावना कम हुँदै गएको बताउनुभयो ।’

नेताहरुले एकता कायमको सम्भावना टुट्दै जाँदा भावी कदमबारे पनि सोच्दै गर्नुपर्ने बताएका थिए । ती नेताकाअनुसार नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रम, संस्थापन पक्षका नेताहरुसँग भएको संवादबारे ब्रिफिङ्ग गरेका थिए । नेता नेपालपछि सुझाव दिँदै नेताद्वय पाण्डे—भुसालसँगै गोकर्ण विष्ट, योगेशकुमार भट्टराईले पनि नेता नेपाललाई सुझाव दिएका थिए । ती नेताले नेता भुसाललाई उद्धृत गर्दै भने— ‘बालुवाटारमा खाली अल्मल्याउन मात्रै खोजेको हो । हामी आगामी कदमबारे पनि चाँडै निर्णयमा पुगौँ ।’

ती नेताकाअनुसार अन्य नेताहरुले भने सम्वादलाई केही समयसम्म जारी राख्न भनेका छन् । ती नेताले भने— ‘केही कमरेडहरुले छलफल, वार्ता तथा सम्वादलाई केही समय जारी राख्नुपर्ने प्रस्तावसमेत राख्नुभएको छ । यस सम्बन्धमा भरैसम्म पार्टीले केही निर्णय गर्ला ।’

यता संस्थापन पक्षले भने आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरेको छ । आफूहरु समस्याको समाधान गर्नेगरी जुटेको र समय अपुग भएकोले बैठक पुनःस्थागित गर्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *