विपक्षी एमालेको केन्द्रीय कमिटी बैठक जारी, चेपुवामा नेपाल–खनाल

काठमाडौं । विपक्षी एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । भर्चुअल रुपमा जारी बैठकमा नेताहरुले धारणा राखिरहेका छन् । नेतृ अष्टलक्ष्मी शाक्यकीअनुसार बैठकमा खासगरी सत्तासिन एमालेसँग भइरहेको वार्ता प्रगतिको बारेमा नेताहरुबाट ब्रिफिङ्ग भइरहेको छ । नेतृ शाक्यले मकालु खबरसँग भनिन्— ‘वार्ता प्रगति र अबको कदम तथा रणनीतिबारे समग्रमा नेताहरुले बोल्दै हुनुहुन्छ ।’

बिहीबार (आज) नै सत्तासिन एमालेले पनि स्थायी कमिटी बैठक आह्वान गरेको छ । अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा एमाले एकता कायम राख्ने विषयमा नै छलफल हुने कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । भने— ‘एकता कायम राख्न के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहन्छ बैठक ।’

पार्टी ०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने, ०७८ फागुन २८ गतेयता पार्टी कमिटीहरुले गरेका निर्णयहरु निःसर्त फिर्ता हुनुपर्नेलगायतका माग अगाडि सारेर बसेको विपक्षी एमाले पछि हट्ने मनस्थितिमा छैन । यसअघि गत वैशाखमा नेता नेपालले पार्टीअध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव कार्यान्वयन भएमा एमाले एकता सम्भव हुने नेता नेपालले बताउँदै आएका छन् ।

यसअघि आजै बिहान एमाले कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै विपक्षी एमालेले आह्वान गरेको बैठकमा एमालेसम्बद्ध कोही नेता तथा कार्यकर्ताहरु सहभागी नहुन भनेका थिए । तर, विपक्षी एमालेको बैठकमा प्रायः सबै नेताहरु सहभागी छन् ।

चेपुवामा नेपाल–खनाल
विपक्षी एमालेमा अध्यक्ष ओलीसँग सहमति गरेर बस्ने कि नयाँ पार्टीबाट अघि बढ्ने भन्नेमा मतभेद देखिन थालेको छ । एमाले आन्तरिक विवाद समाधान गर्ने उद्देश्यसहित गठन गरिएको १० सदस्यीय कार्यदलको विपक्षीतर्फका अधिकांश सदस्यहरुले अध्यक्ष ओलीसँग मिलेर जानुपर्ने राय दिएपछि नेताद्वय नेपाल—खनाल चेपुवामा परेका छन् । जबकि, यता जनवर्गीय संगठनका नेताहरुले नेपाल—खनाललाई नअल्मलिकन नयाँ पार्टी खोल्न झक्झकाइरहेका छन । संगठनकी नेतृ जयन्ती राईले भनिन्— ‘हामीले उहाँहरुलाई जे गर्ने हो छिट्टो गर्न सुझाव दिएका छौँ । अध्यक्षसँगै बस्ने भएपनि त्यसको पहल तीव्र रुपमा हुनुपर्ने र नयाँ पार्टी खोलेर अगाडि जाने भएपनि चाँडै गर्नु भनेका छौँ । त्यसमा पनि धेरै नेताहरुले नयाँ पार्टी खोलेरै अगाडि जानेबारे सुझाव दिनुभएको छ ।’

खासगरी वार्ता टोलीका सदस्यहरु योगेशकुमार भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुले ओलीसँग मिलेर अगाडि बढ्नुपर्ने अडान लिएका छन् । यसअघि गत १७ गते वार्ता टोलीका सदस्यहरुबीच छलफल भएको थियो । उक्त बसाइमा सदस्यहरुले एमालेलाई एक बनाउने नीति अपनाउने कुरामा सहमति जुटाएका थिए । सोहीअनुरुप अगाडि जानुपर्ने सदस्यहरुको भनाइ छ ।

बुधबारको छलफलमा जनवर्गीय संगठनका अधिकांश सदस्यले नेपाल–खनालले नेतृत्व गरेको विचार समूहमा बसेर ओलीलाई बलियो बनाउने गरी अग्रज नेताहरू नै लागेको भन्दै त्यस्ता प्रवृत्तिका नेताहरूलाई छाडेर भए पनि अघि बढ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *