सुदूरपश्चिममा एमाले विवाद : ओली समूहका सांसदले बुझाएनन् स्पष्टीकरण, कारबाही गर्ने चेतावनी

धनगढी । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले ओली समूहका सांसद पठानसिंह बोहरालाई सोधेको स्पष्टीकरणको जवाफ पठाउने समय सकिएको छ ।
स्पष्टीकरणको जवाफ पेश गर्न भनिएकोमा उनले जवाफ बुझाएनन् । बैठकमा आफैँ उपस्थित भएको बैठककोविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले सासंद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री बोहरालाई स्पष्टीकरण सोधेका थिए ।
‘१२ गते धनगढीमा सम्पन्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश, प्रदेशसभा दलको बैठकमा तपाईं स्वयंको उपस्थितीमा भएका निर्णयहरूविरुद्ध तपाईंले दिनुभएका सार्वजनिक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टीकरण पत्रमा भनिएको थियो ।
बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् । शाहले बोहरालाई नसिहत पत्र पठाउँदै संसदीय दलको निर्णय अवज्ञा गर्ने र अनावश्यक भ्रम सिर्जना गर्ने कार्यमा संलग्न नहुन सचेत गराएका छन् ।
माओवादी नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुने पार्टीको स्थायी कमिटी र प्रदेश समितिको निर्णयविपरीत सुदूरपश्चिमको संसदीय दलले १२ जेठमा वर्तमान सरकारलाई दिएको समर्थन् यथावत राख्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा सासंद बोहरा पनि सहभागी थिए । उनले दलका नेता शाहले एकलौटी गर्न खोजेको आरोप लगाउँदै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
यता ओली समूहको प्रदेश समितिले दलका नेतासमेत रहेका मन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पूर्वउद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई साधारण सदस्यबाट निष्काशन गरेको दाबी गर्दै आएको छ । प्रदेश समितिले एमालेको तर्फबाट मन्त्री भएका थप ६ जना, प्रदेश सचेतकलाई पनि स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरण पेश नगरेपछि साधारण सदस्यबाट हटाउन सिफारिस गरेको प्रदेश कमिटीले जनाएको छ ।








