कोरोनारुपी विषलाई मज्जाले पचाइयो : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । कोरोना सङ्क्रमित वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ पूर्ण रूपमा स्वस्थ भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् लामो स्ट्याटस लेख्दै आफू स्वस्थ भएको जानकारी गराएका हुन् । उनले आफूप्रति माया, शुभेच्छा र आशीर्वाद बर्साउने सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरूलाई कृतज्ञता व्यक्त गरेका छन् ।

उनले आशीर्वादको कारण कोरोनालाई मज्जाले पचाएको बताएका छन् ।
हेरौँ उनको पोस्ट :

कृतज्ञता ज्ञापन :

मलाई माया, शुभेच्छा र आशीर्वाद बर्साउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्स, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरूमा, मेरो हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।
यहांहरुको आशीर्वाद लाग्यो मलाई।
याहांहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोना रुपी विषलाई मज्जाले पचाइयो ।
कोरोनाले मलाई पछार्न त नराम्रै सँगै पछार्‍यो। पछार्‍यो मात्र हैन अझ लछार्‍यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।
बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया … ।
तर सबैको माया, शुभेच्छा, प्रार्थना, र आशिर्बादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन।
पछि कोरोना आफै लुत्रुक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर
ह्वाँ… ह्वाँ … रुदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो… … ।
अब शरीरमा अलि अलि शिथिलता बाकि छ । त्यो पनि अलि अलि गर्दै कम कम हुँदै छ।
म पहिलो पटक ८ दिन, फेरि दोस्रो पल्ट १४ दिन माडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो.
डक्टरहरूले मलाई तपाईँको शरीर अब एन्टिबडी बनिसकेको छ। अब तपाईँको शरीरमा अरू कसैबाट पनि कोरोना भाइरस सर्दैन र तपाईँबाट पनि अरूलाई सर्दैन ।
एक प्रकारले भ्याक्सिन लिई सकेको सरह नै भैसकेको छ भनेका छन् ।
तर म मेरो पीसीआर रिपोर्ट नेगेटिभ आयो … भनेर सबैलाई सुनाउने इच्छाले केही नलेखी चुपचाप कुरिरहेको थिएँ ।
तर हिजो फेरि पिसिआर टेस्ट गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो ।
मेरोमा अझै अलि पोजेटिभ बाँकी रहेको देखाएको छ।
डक्टरहरूको भनाई अनुसार मेरो शरीरमा भएका कोरोनाको भाइरसहरू सबै मरिसकेका छन् ।
अब खालि ती मरेका भाइरसका लासहरू मात्र बाकी छन्। त्यो बाँकी हुन्जेल पनि मेशिनले पोजेटिभ नै देखाउँछ। त्यसले केही फरक पर्दैन ,केही दिन पछि त्यो पनि आफै जान्छ भनेका छन् ।
जे होस बाँचियो बा … !
कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केन्सन छ, प्रोस्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद
यहाँहरू जस्तो मलाई औधी माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरु पनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ।
यो कुरा मैले हजुरहरूलाई जानकारी दिनका लागि मात्र लेखेको हुं ।
मनमा अझै पनि पूरा खुसी लागेको भने छैन।
देशमा अझै पनि कोरोना पीडितहरू धेरै बाकि नै छन् कतिपय अझ थपिँदै पनि छन् ।
यस अवस्थामा देशको सबै भन्दा ठुलो समस्या भन्नु यही कुलंगार कोरोना नै हुन ।
सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु ।
जनता नै भएन भने कसलाई शासन गर्ने ? हैन त ??
सबैको जय होस ।
सबैको कल्याण होस।
कोरोनाबाट संसार चाँडै मुक्त होस ।
रेस्पेक्ट यु अल
लभ यु अल
धन्यवाद
        – मदनकृष्ण श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *