एमाले स्थायी कमिटी बैठक बस्दै, थप १२ सांसदमाथि कारबाही हुनसक्ने

कठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गरेका छन् । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गकाअनुसार बैठक आइतबार साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्नेछ । नेम्वाङ्गले भने— ‘बैठकमा अध्यक्षज्यूले समसामयिक विषयमा छलफल हुने भन्नुभएको छ । खासगरी पछिल्लो समय विकसित राष्ट्रिय राजनीति र एमालेकन्द्रित राजनीतिको बारेमा छलफल होला ।’

एमालेको अघिल्लो स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विपक्षी एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालगायतका १२ जना सांसदलाई स्पष्टीकरण माग गरेको थियो । उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । यद्यपि यता नेता घनश्याम भुसालले भने शनिवार फेसबूकमार्फत ‘मेरो स्पष्टीकरण’ भनेर आफू उल्लंघनमा पनि विकल्प रोज्नुपर्ने ठाउँमा पुगेको र नेपालीको आकांक्षाअनुसार संसदीय मर्यादाको उल्लंघन गरेको बताएका छन् ।

यसअघि विपक्षी एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीलगायतका ११ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।

एक नेताकाअनुसार आजको बैठकले थप १२ जना सांसदलाई कारबाही गर्न सक्नेछ । ‘अस्ति केही नेताहरु पार्टीको कारबाहीमा पर्नुभयो । फेरि केही साथीहरुले पनि पार्टीको नियम उल्लंघन गर्नुभएको छ । तर, स्पष्टीकरण बुझाउनुभएको छैन । उहाँहरुको बारेमा छलफल हुनेछ । कारबाहीमा पनि पर्नसक्नुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *