सुदूरपश्चिम प्रदेश

ओली समूहका सांसदलाई सोधियो २४ घन्टे स्पष्टीकरण

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता प्रकाश शाहले ओली समूहका सांसद पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेका छन् । नेता शाहले संसदीय दलको निर्णयविरुद्ध बोलेको भन्दै बोहरालाई स्पष्टीकरण सोधिएका हुन् ।

गत जेठ १२ गते बोहराकै उपस्थितिमा भएको दलको बैठकबाट भएका निर्णयविरुद्ध सञ्चार माध्यममार्फत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण माग गरिएको स्पष्टीकरण पत्रमा भनिएको छ । बोहरालाई संसदीय दलको बैठकले गरेका निर्णय कार्यान्वयनमा बाधा पु-याउँदै गुटबन्दी गरेको, संसदीय दलका अन्य सदस्यलाई उक्साउने र भड्काउने काम गरेको, जनताको हितमा प्रभावकारी काम गर्न खोज्दा बाधा पु-याएकोलगायतको आरोप लगाइएको छ ।

१६ गते साँझ ५ बजेसम्म चित्तबुझ्दो स्पष्टीकरण नआए संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने स्पष्टीकरणमा उल्लेख छ । दलको विधान, २०७७ को दफा १७ को खण्ड (ग) र खण्ड (घ) अन्तर्गत कर्तव्यको प्रतिकुल र विधानको दफा २४ को खण्ड (क(, (ग) र (ङ) मा उल्लेखित दलको सदस्यको अनुशासनको व्यवस्थाको प्रतिकुल भएकोले तथ्यगत जवाफ पेस गर्न र जवाफ पेस नभएमा कारबाही गरिने पत्रमा उल्लेख छ ।

माओवादी नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुने पार्टीको स्थायी समिति र प्रदेश समितिको निर्णय विपरीत सुदूरपश्चिमको संसदीय दलले १२ जेठमा वर्तमान सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो । दलको बैठकमा ओली पक्षका सांसद बोहरा पनि सहभागी थिए । उनले दलका नेता शाहले एकलौटी गर्न खोजेको आरोप लगाएका थिए ।

ओली समूहको प्रदेश समितिले दलका नेतासमेत रहेका मन्त्री प्रकाश बहादुर शाह, पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई साधारण सदस्यबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

प्रदेश समितिले एमालेको तर्फबाट मन्त्री भएका तीन र राज्यमन्त्री भएका तीन जनालाई पनि स्पष्टीकरण सोधेको छ। जवाफ पेश भएको छैन । यसअघि ओली समूहले मन्त्रीबाट राजीनामा दिएका तीन सांसदलाई साधरण सदस्यबाट पनि हटाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *