प्रक्रिया छोट्याएर अध्यादेशमार्फत बजेट ल्याउँदै सुदूरपश्चिम

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत प्रक्रिया छोट्याएर बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सभाको अधिवेशन सञ्चालन गर्दा संक्रमण हुन सक्ने खतरालाई मध्यनगर गर्दै प्रक्रिया छोट्याएर बजेट अधिवेशन बोलाउने तयारी गरिएको नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । उनले प्रदेशका शुक्रबार बसेको मन्त्री परिषद्को बैठकमा अध्यादेश मार्फत प्रक्रिया छोट्याउने विषयमा छलफल भएको बताइन् ।

‘प्रिबजेट (बजेटको प्राथमिकता, सिद्धान्त, उद्देश्य), नीति तथा कार्यक्रम र बजेटमाथि छलफललगायतका प्रक्रिया छोटो बनाउन अध्यादेश ल्याउने विषयमा छलफल भएको छ,’ उनले भनिन्, ‘अध्यादेशको निर्णय भइनसकेको र अब बस्ने क्याविनेटबाट अध्यादेश जारी हुन्छ ।’

प्रदेशमा अहिलेसम्म आगामी बजेटबारे कुनै छलफल हुन सकेको छैन । कोभिड-१९ र पछिल्लो राजनीतिक परिस्थितिका कारण बजेटमाथिको छलफल प्रभावित बन्न पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा ३३ अर्ब ३८ करोड १३ लाखको बजेट ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *