जसपाकाे उपेन्द्र पक्षले महन्थ पक्षका चार नेतालाई फेरि साेध्याे स्पष्टिकरण

काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पुनः स्पष्टिकरण सोधेको छ ।
गत जेठ ११ गते सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अब पनि जवाफ नदिए पार्टीबाट ‘निष्काशनसम्मको कारबाही’ गर्ने चेतावनीसहित अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पुनः स्पष्टीकरण सोधिएको जसपाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक, प्रतिगमनकारी कदमलाई किन साथ दिएको, गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको, छुट्टै कार्यालय किन सञ्चालन गरेको, पार्टीको निर्णय बिना राष्ट्रपतिलाई किन पत्र लेखेको, राजेन्द्र महतोलाई किन संसदीय दलको नेता बनाएको ? लगायतका प्रश्नसहित स्पष्टीकरण सोधिएको थियो।
तर ठाकुर पक्षले स्ष्टीकरण नदिई उल्टै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नै स्पष्टीकरण सोधेको थियो। पछिल्लो समय जसपा फुटको संघारमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र महतो पक्षबिचको टकराब बढ्दै जाँदा जसपा विभाजनको संघारमा पुगेको हो ।








