उज्वलकाे उपचारमा दुर्गा प्रसाईंको सहयोग नलिइने

काठमाडौं । नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको उपचारमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको सहयोग नलिइने भएको छ ।

थापाको परिवार, साथी र शुभेच्छुकका तर्फबाट निकालिएको विज्ञप्तिमा थापाको उपचार खर्च ब्यहोर्ने भनि प्रसाईंले देखाएको चासो र सद्भावका लागि धन्यवाद दिँदै उनको सहयोग आवश्यक नपर्ने उल्लेख गरिएको छ । ‘उज्वल थापाको उपचार खर्च आफूले ब्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चारमाध्यममा प्रकाशन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गरिने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि विज्ञप्ति निकालेर बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंले थापाको उपचारको सबै रकम ब्यहोर्ने बताएका थिए । कोरोना संक्रमित भएका थापा करिब दुई हप्तादेखि उपचार गराइरहेका छन् । हाल उनको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ । उनको उपचार ईसीएमओ प्रविधिबाट भैरहेको अस्पतालले जनाएको छ ।

थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि उपचारका लागि लाग्ने खर्च उनका साथी र शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन् । यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २९१ र नेपालमा बैंक खातामा करिब साढे २६ लाख रुपैया  जम्मा भएको छ । सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति कृतज्ञ रहेको र यो साथले आड भरोसा मिलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *