नेपाली भूमि फिर्ता गर्न वार्ता गरिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाली भूमि फिर्ताको लागि पहल गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले महाकालीपूर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका वार्ता गरिरहेको बताएका हुन् । ‘महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकालीभन्दा उत्तरपूर्वको भनौँ, महाकालीपूर्वको जमिन नेपालको जमिन हो,’ बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरुसँग छलफल गर्दै प्रधानमन्त्रीले भने— ‘हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ र त्यसलाई संविधानको अनुसूचीमासमेत सामेल गराइसकेका छौँ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ । तर, यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ ।’

छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाइ हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले सबै समस्याको समाधान वार्तामार्फत गरिने बताए ।
सरकारले गत वर्षको जेठ ७ गते भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिमा कालीनदी र त्योभन्दा पूर्वको भूभाग नेपालको हुने उल्लेख थियो । तर भारतले कालापानी क्षेत्रमा काली नदीको नक्कली मुहान बनाई त्यसभन्दा पश्चिमको भूभाग कब्जा गरेको थियो ।

कालापानीमा २०१८ सालमा भारत–चीन युद्धको बेलादेखि भारतीय सेनाको क्याम्प राखिएको छ । त्यही क्षेत्रमा भारतले एकतर्फी सडक निर्माण गरी उद्घाटन गरेपछि नेपालले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *