एमाले विवाद

विपक्षी एमालेको कित्तामा उभिए योगेश र गोकर्ण

काठमाडौं । पछिल्लो एमाले विवादमा  घरि यता त घरि उता गरिरहेका  एमाले नेताद्वय योगेशकुमार भट्टराई र गोकर्ण विष्ट विपक्षी एमालेको कित्तामा उभिएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको र पार्टीलाई विभाजनतिर धकेल्ने कुनै पनि गतिविधिमा संलग्न नहुने बताउँदै आएका भट्टराई र विष्टले बुधबार (आज) विपक्षी एमालेका १५ स्थायी कमिटी सदस्यहरुले संयुक्त रुपमा निकालेको वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

केही दिनअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने विपक्षी एमालेको निर्णयमा भट्टराई र विष्टले सहमति जनाएका थिएनन् । त्यसबेला पनि उनीहरुले आफू पार्टी एकताकै पक्षमा रहेको जिकिर गरेका थिए । राष्ट्रपतिलाई बुझाएको १४९ जना सा‌सदको सूचीमा हस्ताक्षर नगरेपछि भट्टराई र विष्ट विपक्षी एमालेको साथ छोडेको अनुमान गरिएको थियो ।

सत्तारुढ एमालेबाट कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् । यसअघि गत सोमबार बसेको सत्तारुढ एमालेको स्थायी कमिटी बैठकले नेता खनाल—नेपालसँगै ११ जना नेतालाई साधारण सदस्य नै नरहनेगरी कारबाही गरेको थियो । त्यसपछि थप चिढिएका विपक्षी एमाले नेताहरुले ओलीविरुद्ध थप मोर्चाबन्दी हुनुपर्ने बताएका हुन् ।

गत जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेपछि प्रधानमन्त्रीको विपक्षमा विपक्षी दलहरुसँगै संविधानविद् र नागरिक अगुवाहरुसमेत उभिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *