न्यूयोर्क राज्य विधान सभाद्वारा ‘नेपाल डे’ मनाउने घोषणा

अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने घोषणा गरेको छ । अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकीको पहिचान तथा सम्मानस्वरुप न्यूयोर्क राज्यले प्रत्येक मे २९ तारिखलाई नेपाल डे को रुपमा मनाउने निर्णय गरेको हो ।
यो घोषणासँगै अमेरिकामा पनि नेपाली भाषा, संस्कृति एवं पहिचानले सरकारी मान्यता पाएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीको बसोबास छ ।
यो घोषणासंगै न्यूयोर्कमा रहेका नेपालीले मे २९ लाई विशेष दिनको रुपमा मनाउने तयारी गरेका छन् । नेपाल डे घोषणाका लागि विशेष भूमिका खेलेको नेपाल आदिवासी जनजाति महासंघ अमेरका (फिप्ना) को संयोजकत्वमा नेपाल डे २०२१ मूल आयोजक समिति गठन गरिएकाे छ । यो समितिमा न्यूयोर्कमा रहेका सबैजसो संघसंस्था सदस्य छन् ।
आयोजक समितिले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी ९४ सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ । न्यूयोर्कको क्वीन्समा आयोजना गर्न लागिएको विशेष समारोहलाई सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको छ । समितिले न्यूयोर्कमा रहेका सम्पूर्ण नेपालीलाई उक्त दिन कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ ।
‘हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ मनाउन लागिएको कार्यक्रममा नेपाली महावाणिज्य दुतावास संरक्षक रहेको समितिका संयोजक लोक चेम्जोङले जानकारी दिनुभयो । न्यूयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने सन २०१६ देखि गर्न थालिएको थियो ।








