कथा: मन्जु

थाहा छैन यदि मन्जु त्यो गाउँ फेरि कहिल्यै फर्केर गएकी छ या छैन । म बेला बेलामा जब उसलाई सम्झन्छु, एक नमिठो ग्लानीले हरबखत पिरोल्लिरहन्छु। उसको साइनो खोज्दै लज्जासँग जुध्न आउने पहाडी आँखाहरू, निर्दोषपन संगालेका राता गालाहरू, बैँसले शृंगार्दै गरेको छिनेको शरीर, मसिनो बालोचित स्वर, अनि हिउँभन्दा निश्चल माेहलाग्दो हाँसो । सबै मानौं मबाट केहि जवाफ कुर्दैछन् । अहिलेसम्म पनि र शायद अनन्तसम्मै । अनि म फगत भाग्दैछु उसका टिल्पिलाएका याचना बोकेका आँखाहरूदेखि । र, यो दोष बोकेर म बाँचुन्जेल मरिरहनेछु ।

म एउटा बटुवामात्र थिएँ- उसको घरमा बास माग्न आइपुगेको । त्यहाँ सानो पसल थियो भूईँतलामा । थोरै चाउचाउ-बिस्कुट अनि रक्सी-अर्नि । मन्जुको बुवा पसल हेर्थे, आमाचाहिँ होटेल र भान्छा । माथि सानो पाहुना कोठा, तीन जनासम्म सुत्न पुग्ने । त्यस साँझ मेरो कोठाको सङ्घारमा अनुहार झुकाउँदै मन्जु अत्ताल्लिएकी थिई, ‘भान्छामा आउनु रे ! खाना पाक्यो।’

म त्यहाँ अझै पाँच दिन बस्नु पर्ने भयो। त्यहाँबाट मलाई उसको गाउँ लैजान खासमा दोस्रो दिनतिर मेरो साथी लिन आउने कुरा थियो । तर केहि कारणवश ऊ आएन । म दिनभर कविता कोर्दै बस्थेँ, साँझ-बिहान भने हात खुट्टा तन्काउन अलिक परसम्म डुल्न जान्थेँ । पसल बाहिर मेचमा बसेर चुरोट तान्दै गर्दा मन्जु वरपर हिँडेको ख्याल भइरहन्थ्यो। बिस्तारै बिस्तारै हामी एक अर्कालाई देख्दा अभिवादन स्वरूप मुस्कुराउन थाल्यौँ । उसको त्यो मुस्कान म अझै पनि कुनै सपनाको मधुरो दृष्यजस्तै सम्झिरहन्छु । कति सुमधुर, कति हृदय स्मारक !

पर्सिपल्ट‚ साँझ म ढोका बन्द गरेर केहि कोर्दै थिएँ, अचानक ढोका खोलियो । मन्जु मलाई देखेर तर्सिई । रातो पिरो भएर जिब्रो टोकी, ‘अरे ! माफ गर्नुहोला है !’

ऊ हताठ् फर्कन लाग्दै थिई, मैले बोलाएँ ।

‘मन्जु !’

ऊ संघारमा एक निमेष रोकिई र मुनीतिर हेर्दै आफ्नो जिउ फर्काई- ‘हजुर !’

‘तिम्रो रिबन मेरो टेबलमा छुटेछ हिजो बेलुकी ।’

अब ऊ झनै अकमक्क परी । नजर झुकाई नै रहेर टेबलतिर हतारिएका पाइलाहरू चाल्दै बढी ।

‘मेरा कविताहरू त्यति राम्रा छन् र ? चोरीचोरी पढ्नलाई ?’ मैले जिस्क्याएँ ।

ऊ मेरो जवाफ नदिइकन रिबन समातेर कुद्दै बाहिर निस्किई । म भने उसको गोरो मुहारमा मेरो प्रश्नले ल्याएको असहज सरमको रङ्ग सम्झेर एक्लै हाँसिरहेँ ।

मन्जु एकदम हँसिली देखिन थालेकी थिई । बिहान भान्छामा खाना पकाउँदै गीत गुनगुनाएको आवाज बाहिर म सुनिरहन्थेँ । आफ्नो आमासँग पनि ठुलो स्वरले बोल्थी, जिस्कन्थी ।

चौथो दिन साँझ मन्जु मेरो ढोकामा सधैँ झैँ उभिई । उसले नयाँ फरिया चोली लगाएकी रहिछ । ऊ मतर्फ हेर्दै एकटक उभिई नै रही । अनि आफैँ झस्किएर सर्माउदै बोली- ‘खाना पाक्यो है!’

खाना खाँदा उसकी आमा कराइन्- ‘हैन‚ राति राति किन नयाँ कपडा लगाएको ? यस्तो जाडोमा त्यै पनि!’

पाँचौं दिन बिहान मैले मन्जुकाे लागि भनेर एउटा कविता लेखेँ । जाडो दिनदिनै बढ्दै गइरहेको थियो तर मन्जुको उपस्थितिले मनमा केहि न्यानो भने भइ नै रहेको थियो । उसको गाउँले भाकाले मलाई नजानिदो तवरले खिचिरहेको थियो ।

साँझ पर्न लाग्दा मेरो साथी टुप्लुक्क मुख देखाउन आइपुग्यो- ‘माफ गर् है राइटर ! तेरो साथीको गाउँ यति पर छ । पल्लो घर काका बितेर चाँडो आउन पाइनँ । म त तँ रिसाएर फर्किइस् कि ठानेको ! यता फोन पनि छैन । भोलि झिसमिसेमै निस्कनुपर्छ अब ! धुम्छु भनिस्, काठमाडौंको हावापानी- यता कस्तो लाग्यो ?’

म मुस्कुराएँ- ‘कविताहरू फुरे । मतलब मन पर्‍यो भन्न ।’

हामी पसल बाहिर उभिएर कुरा गर्दै थियौँ । पछाडि फर्कदा मन्जु संघारबाट चिहाएर हाम्रो कुरा सुनिरहेको देखेँ । म हासेँ, मन्जुले यसपाली अभिवादन फर्काइन् । अनुहार एकदम शिथिल बनाएर टाउको झुकाई अनि भित्र पसी । त्यस रात मन्जु हामीसँगै खाना खान बसिन् ।

भोलिपल्ट बिहान म मेरा सामानहरू मिलाउँदै थिएँ, साथी चर्पी गएको थियो । मन्जु ढोका बाहिर देखिई । मैले अभिवादन दिएँ, ऊ भावशून्य चेहेरा लिएर बिस्तारै संघार समाउन आइपुगी । उसका लागि लेखेको कविता झट्ट याद आयो । मैले डायरी पल्टाएर त्यो कविताको पाना सम्हालेर च्यातेँ अनि अघि बढेर ऊतर्फ मेरो हात बढाएँ ।

‘तिम्रोबारे कविता लेखेको थिए, राख है?’

उसले बिस्तारै अन्कनाउदै हात बढाई र पाना लिई ।

‘एकछिन है?’ भन्दै ऊ कुद्दै तल झरी ।

फर्केर उसले पोलिथिन झोलामा भुटेको मकै भटमास ल्याएर टेबलमा राखिदिई ।

‘बाटोमा खाजा खानुहोला ।’ उसको मधुरो स्वर बोल्यो ।

म कृतज्ञ भएर मुस्कुराएँ । यो पालि बल्ल मन्जु मुस्कुराई ।

छुट्नुअघि मैले उसको आमा बुबालाई धन्यवाद दिए र बसाईंको पैसा तिरेँ । अन्तिम पल्ट मन्जुतर्फ हेर्दा ऊ गह्रौँ मुटु लिएर मतर्फ हेर्दै मुस्कुराउने चेष्टा गर्दै थिई । म यस बखत बल्ल होसमा आएँ । मैले बिचरीलाई के गरेँ ? मैले उसको नादानीको फाइदा त उठाइन् ? मन खिन्न भयो । त्यसपछि मैले ऊसँग आँखा जुधाउने हिम्मत गर्न सकिनँ । अगाडि ओरालो नलाग्दासम्म मन्जुका आँखाहरूले पछ्याइरहेको भान भइरह्यो ।

त्यसपछि मैले मन्जुलाई कहिल्यै देखिनँ । मैले मेरो गलबन्दी उतै भुलेछु । पछि ख्याल भयो तर अब त्यस गाउँमा म कहिल्यै फर्केर जान्न भन्ने मलाई थाहा थियो । यसैगरी अरू धेरै चिसा हिउँदहरू बिते । बिस्तारै मेरो सम्झना सपनाहरूबाट मन्जु ओझेलिई । म सहर फर्किएर आफ्नो जीवन बाँचिरहेँ, उसको अस्तित्व बिर्सिएर । धेरै कुराहरू फेरिए, बदलिए । साथीसँग बेला मौकामा चिट्ठी आदान प्रदान हुँदा भने मन्जुको झझल्को आउँथ्यो । तर एउटा पुरानो कविताभन्दा बढी ऊ अरू केहि थिइन् मेरा लागि । मेरो केहि वर्षमा बिहे पनि भयो । म आफ्नो सदुवासँग एकदम सन्तुष्ट थिए । ऊ मलाई प्रेम गर्थी, मेरा पाउहरूमा झुक्थी- म खुसी थिए ।

करिब सात वर्षपछि साथीको बिहेको निमन्त्रणा आयो चिट्ठीमा । मलाई समयले फेरि ती उवडखावड गोरेटोहरूसँग परस्परमा लियो, मन्जुको जीवनरेखा कोरिएका बाटाहरूसँग । म फेरि बटुवा बनेर त्यहि पुरानो पाहुनाघर पुगेँ । मन्जु भेटिन्छे कि भन्ने आश कता-कताबाट हृदय चिह्याइरहेको थियो । मलाई फेरि देखी भने चिन्ली कि नचिन्ली, उसका लागि लेखेको कविता उसलाई सम्झना होला कि नहोला ? मनमा कुराहरू खेलिरहेका थिए । तर मन्जु भेटिइन । मन्जुका आमा बुबामात्र त्यस दुईतले सानो माटोको घरमा जीवनको श्वास फेरिरहेका थिए । उनीहरूले मलाई अवश्य पनि चिनेनन् ।

पाहुना कोठामा पुग्दा म पुराना ती हराएका पाँच दिनहरूसँग पुन: परिचित बनेँ । म सुतेको खाट, मैले कविता कोरेको टेबल । त्यो झ्याल, भित्ता, संघार।

म खानाको कुरा गर्न भनेर तल झर्दै थिएँ, मेरो दृष्टि पल्लो कोठाको भित्तामा अल्झियो… मन्जु !

काठको सानो फ्रेमभित्र सानी बच्ची झैं मुस्कुराइरहेकी मायालाग्दी मन्जु । मेरा कदमहरू थाहै नपाई मलाई ऊसम्म पुर्‍याइसकेछन् । गहभरि प्रेमको हरफ बोकेकी मन्जु‚ पर्खाइको मौनतामा बाँच्न रोजेकी मन्जु । उसले मेरो गलबन्दी लगाएकी थिई । म स्तब्ध भए।

साँझ उसको आमासँग कुरा गर्दा थाहा पाएँ, उसको बिहे गएको साल मात्र भएको रहेछ । पूर्वको केटा अरे ।

‘बिहे गर्न मानेकी थिइन । खै को जाति गीत हो कि के लेख्ने केटा लिन आउँछ भनिरहन्थी । बिसोरकी केटी ! यो वर्ष जबरजस्ती पठाइदियौँ । यो उमेरमा धन्न दुलहा भेटियो ।’

म अवाक् भएँ । मन चिसो भयो ।

‘बाबुले कसरी चिन्नु भयो नि मन्जुलाई?’

‘होईन आमा, म धेरै पहिले यहाँ बाँस बस्न आएको थिए।’

मलाई रातभरि निद्रा परेन । निराश हावा कोठाभरि बहिरह्यो, म निसास्सिरहेँ। मैले उसका निम्ति लेखेको कविता सम्झन खोजेँ‚ केहि पनि याद आएन, एउटै शब्द याद आएन । के उसले मेरो कविता अझै आफूसँगै राखेकी होली ?

मैले रातभरि सम्झिरहेँ- उसको त्यो मासूम मुस्कान, लुकामारी खेल्न खोज्ने आँखाहरू, संघारमा अल्झिएका हत्केलाहरू, चंचले बोली अनि जीवनले भरिएका खित्काहरू, उसको नयाँ फरिया चोली, रिबन, गलबन्दी, मेरा कविताहरू, भुटेको मकै-भटमास र बिदाइको उसको त्यो क्लेश मिश्रित मुस्कान । अनि, …मन्जु ।

प्रतिक्रिया

One thought on “कथा: मन्जु

Leave a Reply to Raj Kumar Magar Cancel reply

Your email address will not be published. Required fields are marked *