वैकल्पिक सरकार

के महन्थ ठाकुर प्रधानमन्त्री बन्छन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संविधानको धारा ७६ (५) बमोजिमको सरकार बनाउनु’ भनी निर्धारण गरेको समयसीमा शुक्रवार (आज) साँझ पाँच बजे घर्किँदैछ । उपधारा ५ अनुसार जाँदा प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गर्नुपर्ने हुन्छ । यो अवस्थामा अहिले सग्लो कुनै पनि दल तथा दलका नेताहरु देखिँदैनन् । किनकि, उनीहरु कुनैसँग पनि विश्वासको मत लिनसक्ने स्थिति छैन । जबकि, विश्वासको मत लिनको लागि हाल कायम रहेको प्रतिनिधि सभा सदस्यबाट १३६ जना सांसदको साथ चाहिन्छ ।

समयसीमा आजै सकिने भएपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच राजनीतिक सरगर्मी बढेको छ । कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुढानिलकण्ठमा जारी छ भने जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक पनि सिंहदरबारमा जारी छ । यता संसद्को तेस्रो ठूलो दल माओवादी पनि आन्तरिक छलफलमा व्यस्त छ ।

त्यसो त यी दलहरु यसअघि पनि बहुमतको सरकार बनाउने सन्दर्भमा एक पटक चुकिसकेका छन् । अब पनि पुनः वैकल्पिक सरकार बनाउन सक्छन् ? भन्ने प्रश्न सबैको जिज्ञासाको विषय बनेको छ । कांग्रेस नेता रमेश लेखकले भने नयाँ सरकार बन्नेमा आफू विश्वस्त रहेको बतउँछन् । मकालु खबरसँग नेता लेखकले भने— ‘हामी त्यहीअनुसार कदम बढाएका छौँ । यो अल्पमतको सरकार थियो । संविधान कार्यान्वयनमा त्रुटि देखियो । त्यसको भर्त्सना त कांग्रेसले गरिनैसकेको छ । अब वैकल्पिक सरकार गठनको प्रक्रियामा पनि लाग्नैपर्ने देखिएको छ । हामी त्योअनुरुप नै अगाडि जाँदैछौँ ।’

त्यसो त कांग्रेसले नै प्रधानमन्त्री दाबी गर्ने हो ? भन्ने सवालमा कांग्रेस नेतृ पुष्पाले मकालु खबरसँग भनिन्— ‘हामी यही विषयमा आज निष्कर्षमा चाँडै पुग्दैछौँ । जसरी हुन्छ नयाँ सरकार बनाऔं भन्ने नै हो । त्यस विषयमा अब कसरी हुन्छ बनाउने नै भन्ने हो ।’

यता माओवादी नेता लीलामणि पोखरेलले ७६ (५)अनुसारको सरकार बन्ने बताउँछन् । भन्छन्— ‘नयाँ सरकार गठन त गर्नैपर्ने चुनौती पनि छ । त्यहीअनुसार हाम्रो र अन्य दलहरुसँग छलफल भइरहेको छ ।’ प्रधानमन्त्रीको रुपमा महन्थ ठाकुरलाई मान्ने सन्दर्भमा यहाँहरुको पार्टीमा छलफल भएको छ ? भन्ने सवालमा नेता पोखरेलले भने— ‘छलफल भएको छ तर, निष्कर्षमा पुगिसकेका छैनौँ, सबै नेताहरुको मनसाय बुझ्दा महन्थलाई नै अगाडि बढाउने विषयमा पनि पार्टीमा खासै विवाद नदेखिएला । मेरो व्यक्तिगत धारणा पनि महन्थलाई नै मान्दा फरक पर्दैन भन्ने नै हो ।’

यता ठाकुरपक्षीय एक सांसदले पनि आफूहरुको जोड ठाकुरलाई नै प्रधानमन्त्री बनाउने विषयमा रहने बताउँछन् । संसदीय दलको बैठकस्थलबाट ती सांसदले मकालु खबरसँग भने— ‘हाम्रो जोड महन्थ ठाकुरजीलाई नै अघि सार्ने हो । यसबाहेक अन्य कुरामा हामी जाँदैनौँ । हाम्रो बटमलाइन् यही नै हो । यदि यो सहमति भएको खण्डमा हामी अहिल्यै पनि तयार छौँ ।’

त्यसो यता डा. बाबुराम भट्टराई—उपेन्द्र यादवपक्षीय जसपाले पनि ठाकुरलाई नै प्रधानमन्त्री बनाउने भनिसकेको छ । अध्यक्ष यादवले मकालु खबरसँग भने— ‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ । हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ । यस विषयमा अरू पार्टीसँग कुराकानी भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *