बजेटअगावै विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटअगावै संसद्बाट विश्वासको मत लिने मनस्थिति बनाएका छन् । संसद्को ठूलो दलको नेताको हैसियतले संविधानको धारा ७६ (३) बमोजिम गत वैशाख ३० गते प्रधानमन्त्री बनेका ओलीले बजेटअगावै विश्वासको मत लिने मनस्थिति व्यक्त गरेको ओली निकट एक नेताले मकालु खबरलाई जानकारी दिए । ‘कुरा भएअनुसार उहाँ (प्रधानमन्त्री)ले बजेटअगावै संसद्बाट विश्वासको मत लिनुहुन्छ,’ ती नेताले भने— ‘त्यसको तयारी भइरहेको छ ।’

वैशाख ३० गते प्रधानमन्त्रीमा पुनःनियुक्त भएका ओलीले संविधानतः जेठ ३० सम्ममा विश्वासको मत लिनुपर्छ । तर, जेठ १५ मा बजेट ल्याइसक्नुपर्ने संवैधानिक अड्चनका कारण चाँडै विश्वासको मत लिने तयारी गरेका हुन् । ‘विश्वासको मत त यो महिनाभरी जहिले लिँदा पनि हुन्थ्यो,’ ती नेताले भने— ‘तर, बजेट जेठ १५ मा ल्याइसक्नुपर्ने हुनाले उहाँले चाँडै लिने मनस्थिति बनाउनुभएको हो ।’

त्यसो त विज्ञहरुले अल्पमतको सरकारले कामचलाउ मात्रै नीति तथा कार्यक्रमसँगै बजेट ल्याउनुपर्ने बताउँदै आएका छन् । र, यो सत्य भएको पनि ती नेताको स्वीकारोक्ति छ । भन्छन्— ‘फेरि त्यो पनि ठिकै नै हो । अल्पमतको सरकार छ । विश्वासको मत नलिइ त निस्फिक्री अगाडि बढ्न पनि पाइएन ।’

प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नुभएन र संवैधानिक रुपमा निर्धारित बजेटको समयमा अड्चन आयो भने के हुन्छ ? भन्ने जिज्ञासामा ती नेताको जवाफ छ— ‘विश्वास छ उहाँले विश्वासको मत लिन सक्नुहुन्छ । यदि सक्नुभएन भने पनि संविधानअनुसार अगाडि बढ्नुहुन्छ । बजेट आउने कुरा त छँदैछ नि ।’ ती नेताकाअनुसार प्रधानमन्त्री ओलीले चाँडै संसद्को अधिवेशनसमेत आह्वान गर्दैछन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि जनता समाजवादी पार्टी (जसपा) सँग समेत कुराकानी गरिरहेका छन् । तर, जसपाले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत दिन नसक्ने अडान राख्दै आएको छ । जसपाले संविधान संशोधनका लागि अधिकारसम्पन्न आयोग बनाउनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, झूटा मुद्दाहरू फिर्ता लिनुपर्नेलगायतका सर्तहरु अगाडि सारेको छ । ती मागहरु पूरा नभएसम्म कुनै पनि हालतमा आफू ओलीको कित्तामा नउभिने बताउँदै आएको छ ।

उसो त जसपाभित्र पनि ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई फ्याक छ । संघीय परिषद् अध्यक्षसमेत रहेका नेता डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली कुनै पनि हालतमा विस्तापित हुनैपर्ने बताउँछन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफ्नो माग पूरा भए समर्थन गर्न पछि नहट्ने अडान राख्छन् ।

यस्तै ओलीले विपक्षी एमालेसँग पनि वार्ता अगाडि बढाइरहेका छन् । विपक्षी एमालेले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ कि दिँदैन भन्ने कुराको निर्क्यौल बिहीबारको राष्ट्रिय सभाको उपनिर्वाचनले गर्ने ओली निकट अर्को नेताको बुझाइ छ । उनले मकालु खबरसँग भने— ‘अब भोलि पनि केही कुरा बुझिन्छ । उहाँहरु (विपक्षी एमाले) को लाइन के रहने भन्ने कुराको निर्क्यौल भोलिको निर्वाचनले पनि गर्छ ।’

यसअघि पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सकेका थिएनन् । त्यसपछि पदबाट स्वतः मुक्त भएका उनी विपक्षी दलहरुले बहुमतको सरकार बनाउन नसकेपछि संसद्मा प्रतिनिधित्व गर्ने ठूलो दलको नेताको हैसियतले पुनःप्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *