देवरले गरे भाउजुको हत्या

विराटनगर । मोरङमा देवरले भाउजुको हत्या गरेका छन् । रंगली नगरपालिका ३ का नातामा देवर बिनोद यादवले सोही ठाउँकी अनिता यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान मोरङको रंगेली नगरपालिका- ३ स्थित तिलुवा चौकको नहरमा २४ वर्षीय अनिता यादवको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो । घाँटीमा धारिलो हतियार प्रयोग गरी क्षतविक्षत पारिएको अवस्थामा भेटिएको शवको बारेमा प्रहरीले अनुसन्धान गर्दा उनका देवर १९ वर्षीय बिनोद यादवले हत्या गरेको फेला परेको प्रहरीेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी अनुसन्धान टोलीले उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा मृतकको देवर र मृतकबीच मंगलबार साँझ झगडा भएको जनाएको छ । झगडापछि राति ८ बजे देवर बिनोद यादवले अनिताको घाँटीको अगाडिपट्टि दाउले प्रहार गरी घटनास्थलमा नै मारेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले अनुसन्धानको क्रममा हत्यामा संलग्न रहेका बिनोदलाई बुधबार बिहान उनकै घरबाट पक्राउ गरेको जनाएको छ । हत्याको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








