अढाई रुपैयाँको मास्कलाई १० रुपैयाँ, छैन अनुगमन

मनपरी असुली गर्ने ७ फार्मेसीलाई कारबाही

विराटनगर । अहिले मानिसको दैनिकीभित्र परेको मास्कको मूल्य १० रुपैयाँ लिइन्छ । खाने र सुत्ने समयबाहेक अहिले दैनिक जीवनमा नभई नहुने मास्कको मूल्यबारे कोही पनि बोलेको देखिँदैन । मोरङको बुढिगंगा गाउँपालिका- ४ का खगेन्द्र आचार्यले मास्कको मूल्यमा मनपरी भएको बताए । दुई/अढाई रुपैयाँ पर्ने मास्कलाई बजारमा किन्नु पर्दा १० रुपैयाँ हाल्नुपर्ने नागरिकको बाध्यतामा राज्यले चासो नदिएको उनले बताए ।

नागरिक अहिले मास्क नै किन्न नसक्ने अवस्थामा पुगेका छन्‚ तर यसको मूल्यको बारेमा सोधिखोजी र अनुगमन नहुनुले अप्ठ्यारोमा लुट्ने प्रवृत्ति देखिएको आचार्यको गुनासो छ । ‘कोभिड संक्रमणको शुरुका दिनमा मास्को मूल्यमा जुन वृद्धि भएको थियो‚ त्यही अवस्थामा अहिले पनि लिएको देखिन्छ‚’ उनले भने, ‘कसैलाई किनेर सहयोग गरौँ न त भन्ने लाग्यो भने पनि महंगो भएकै कारण हत्तपत्त आँट गर्ने अवस्था छैन ।’

मास्कमा भएको कालोबजारीको बारेमा खासै कसैले वास्ता गरेको देखिँदैन । उत्पादन हुँदा कम्पनीमा २ रुपैयाँ ५० पैसा पर्ने भनिएको मास्क बजारमा खरिद गर्दा १० रुपैयाँमा खुलेयाम बिक्री बितरण भइरहेको टंकिसिनवारीका अभियानकर्मी कपिल सुनुवारले बताए । कोभिडको महामारीसँगै सेनिटाइजर, मास्क तथा खाद्य सामग्रीमा मनपरी शुरु भएको उनको गुनासो छ । अनुगमनलाई प्रभावकारी बनाउने भनिए पनि अनुगमन तीव्र रुपमा भएको देखिँदैन ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले भने मास्कमा कुनै उजुरी नपर्ने गरेको बताए । कार्यालयले पछिल्ला १५ दिनमा धेरै व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको उनको दावी छ । कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले १५ दिनमा मास्क, सेनिटाइजर र अक्सिजन ग्यासको आपुर्ति व्यवस्थापनमा काम गरेको बताए । अक्सिजनको अभाव तथा कालोबजारी हुन नदिनका लागि मोरङका २ र सुनसरीका ३ वटा उद्योगको उत्पादन, सप्लाई, पर्याप्तता, मागको अवस्थाको बारेमा केन्द्रित भएर अनुगमन गरिएको पोखरेलले बताए । धेरै ठाउँमा थन्किएर बसेका अक्सिजन सिलिन्डरहरू बरामद गर्ने र अस्पतालसम्म पुर्‍याउन सहयोग गर्ने काम अनुगमनको क्रममा गरिएको उनले बताए ।

यस्तै मास्क तथा सेनिटाइजरको अभाव सिर्जना तथा मूल्यभन्दा बढी लिने व्यापारीलाई कारबाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ। कालोबजारी गर्ने ईटहरी, धरान र विराटनगरका विभिन्न व्यवसायीहरूबाट तीन दिनमा ४ लाख ८५ हजार जरिवाना असुलउपर गरेको कार्यालयका प्रमुख पोखरेलले मकालु खबरलाई जानकारी दिए ।

यसरी कारबाहीमा परेका उद्योगमा ५ हजारदेखि २ लाखसम्म जरिवाना तिरेको उनले बताए । विराटनगर अस्पताल अगाडिको बिनुका फर्मेसीलाई २० हजार, एस फार्मेसीलाई ५ हजार, टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीलाई २ लाख जरिवाना गराइएको पोखरेलले जानकारी दिए । त्यस्तै धरानको टाटानन्द फार्मेसीलाई २० हजार र सुनौलो मेडिकल हललाई २० हजार र ईटहरीका दिजिता सर्जिकल हाउसलाई २ लाख तथा होमताङ औषधालयलाई २० हजार जरिवाना गरिएको कार्यालय प्रमुख पोखरेलले बताए । अनुगमनको क्रममा ७ वटा फार्मेसी तथा डिलरलाई कारबाही गरिएकोमा उनीहरूबाट ४ लाख ८५ हजार जरिवाना असुल गरिएको उनले जनाए ।

कार्यालयले सामान खरिद र बिक्रीमा अस्वभाविक अन्तर राखेर बिक्री वितरण गरेको पाइएमा २ लाख जरिवाना गरिएको र  खरिद र बिक्रीको बिल नदेखाएको तथा बिल बिजक नराखेका व्यवसायीहरूलाई ५ हजार र २० हजार जरिवाना गरिएको पोखरेलले जानकारी दिए । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको छ ।

मास्कमा बढी मूल्य लिएको बारेमा भने कम गुनासो आउने गरेको पोखरेलको भनाइ छ । ‘कुनै कुनै फार्मेसीमा मात्र प्रतिमास्क १० रुपैयाँमा बेचेको पाइएको छ भने धेरैले ५ रुपैयाँमा बेचेको पाइएको छ,’ उनले भने, ‘मास्कमा धेरै कैफियतका गुनासा आएका छैनन्, कसैले गुनासो गरे तुरुन्तै कारबाही हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *