अवैध हतियार र सामानसहित चार जना पक्राउ

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी धुस्रेनीबाट अवैध हातहतियार र सामान सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय डम्बरबहादुर कार्की, उनकै भाइ ३५ वर्षीय द्रोणकुमार कार्की तथा २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्णबहादुर विक छन् ।
उनीहरुमध्ये डम्बर बहादुरको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, ३९ बट्टा सलाई, २५ ग्राम गन्धक, १ किलो ६ सय ८० ग्राम सोडा, भरुवा बन्दुकमा प्रयोग हुने फलामको धातुको छर्रा, सिङ सहितको मृगको टाउको, जंगली जनावर सालकको ४ सय ८० ग्राम खबेटा, द्रोण कुमारको घरबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा, १ किलो २ सय ग्राम सोडा, ४० ग्राम गन्धक, रबिन्द्रको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम फलामको छर्रा र कृष्ण बहादुरको घरबाट बनाउँदै गरेको बन्दुकको १ थान बट, भरुवा बन्दुकको नाल जस्तो देखिने ५ थान फलामको पाईपहरु, भरुवा बन्दुकको गज जस्तो देखिने १ थान फलामको रड, बन्दुक बनाउने फलामको छिनो, रेती समेतका औजार र सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।








