एमाले विवाद

ओली–नेपालबीच वार्ता शुरु, कार्यदलको टुङ्गो आजै

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । ०७५ जेठ २ को पार्टी संरचनालाई आफ्नो ‘बटमलाइन्’ बनाउँदै आएका नेता नेपालसँग पार्टी अध्यक्ष ओलीले आइतबार (आज) जेठ २ कै दिन निर्णायक वार्ता गरिरहेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई जानकारी दिए ।

यसअघि ओली–नेपालबीच गत शुक्रवार वार्ता भएको थियो । उक्त वार्ताका क्रममा ०७५ जेठ २ कै पेरिफेरीमा रहेर सहमति गर्नेगरी एक कार्यदल बनाउने सहमति ओली–नेपालबीच भएको थियो । ‘त्यही दिन पनि मोटामोटी सहमति भएको छ,’ नेता नेम्वाङ्गले भने– ‘उहाँहरुबीच त्यही ०७५ जेठ २ कै वरिपरी रहेर निर्णय गर्ने सहमति भइसकेको छ ।’

विवाद समाधानको लागि बन्ने कार्यदल पनि आजै बन्नेछ । ओली—नेपालले भेटमै आ–आफ्नो तर्फबाट कार्यदलमा बस्ने नेताको नाम टुङ्गो लगाउनेछन् । कार्यदलमा आफ्नो तर्फबाट रामबहादुर थापा ‘बादल’लाई समेत अगाडि बढाउने ओलीको रणनीति छ । कार्यदलमा बादललाई नै नराखिएपनि टोपबहादुर रायमाझीलाई राख्ने बालुवाटारको रणनीति छ । जबकि, नेपालको माग भनेको बादल, रायमाझीलगायतका पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु कोही पनि रहनुहुन्न भन्ने हो । ओलनिकट एक स्थायी कमिटी सदस्यले मकालु खबरलाई भने— ‘अध्यक्षज्यूले बादललाई पनि कार्यदलमा अगाडि सार्ने भनेर एकचोटी कुरा गर्नुभएको थियो । सायद कार्यदलको एक सदस्यमा उहाँ (बादल) नै रहनुहुन्छ होला । किनकी, बादल हाम्रो पार्टीको स्थायी कमिटी सदस्य पनि हुनुहुन्छ । बादललाई नै नभएपनि पूर्वमाओवादी पृष्ठभूमिका एक नेता कार्यदलमा हुनैपर्छ भन्नेछ ।’

विवाद समाधानको लागि कार्यदल बनाउने सहमति ओली–नेपालबीच गत वैशाख ३० गते बुढानीलकण्ठमा भएको वार्तामा भएको थियो । तत्पश्चात् बादलसहितको उपस्थितिमा ओली–नेपालबीचका नेताहरुसँग वार्ता भएको थियो । उक्त वार्ताबाट नेपाल पक्ष संशकित भएको आकलन शुरु भएको छ । नेपाल पक्षको बादलसमेत पार्टीमा रहँदा आफ्नो माग सम्बोधन भएको नहुने विश्लेषण छ ।

गत वर्षको फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि एमालेमा प्रवेश गरेका बादल प्रधानमन्त्री ओलीका विश्वास पात्र बनेका छन् । फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एमाले प्रवेश गरेका बादलसहितका पूर्वमाओवादी नेताहरूलाई पार्टीमा समावेश गरेका थिए ।

त्यसयताका हरेक बैठकमा ओलीले बादललाई सहभागी गराउने गरेका छन् । ओलीले नेपाल समूहलाई भने त्यस्ता बैठकमा सहभागी गराएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *