कोरोना रोकियोस् भन्ने कामना गर्दै देवतालाई बलि !

जाजरकोट । अहिले जताततै कोरोनाको त्रास छ । यसबाट बच्न मानिसहरुले अनेक उपाय अपनाइरहेका छन् । कोही आयुर्वेदिक औषधिको प्रयोगलाई महत्व दिइरहेका छन् भने कोही योग अभ्यासलाई । यी त स्वास्थ्यसँग सम्बन्धित उपाय हुन् ।

तर कोरोना नियन्त्रण हुन्छ भन्दै देवी–देवतालाई बलि दिएको सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अब अचम्म मान्नुपर्ने केही छैन । कोराना नियन्त्रण हुने आशामा जाजरकोटमा देवीलाई बलि (बोका) चढाइएको छ । शनिबार दिउँसो नलगाड नगरपालिका-८ हल्चौरमा गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए ।

नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि त्यसलाई रोक्न बलि दिइएको खत्रीले जानकारी दिए । उनले भने, ‘यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौं ।’

यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराति गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताए ।

मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताए । पटक-पटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उनले बताए । हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो । यहाँ जुम्लाकै मष्टो देवता मनाउने गरिन्छ । जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेहरु देवताको शरणमा गएका थिए । गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ । –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *